दाङको देउखुरी क्षेत्रमा बाढीका कारण दर्जन बढी घर डुबानमा

भक्तपुर न्यूज

९ साउन २०८० ११:०२

दाङको देउखुरी क्षेत्रमा बाढीका कारण दर्जन बढी घर डुबानमा

 दाङ । दाङको देउखुरी क्षेत्रमा अविरल वर्षाका कारण एक दर्जन बढी घर डुबानमा परेका छन् । राजपुर गाउँपालिका र लमही नगरपालिकाका डुबानमा परेका हुन् ।

राप्ती नदीमा आएको बाढीका कारण राजपुर गाउँपालिका–५ भुर्कीहवामा १२ वटा घर डुबानमा परेका दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन गौतमले जानकारी दिए । यस्तै लमही नगरपालिका–१ सुनडबरी र वडा नम्बर ३ को कान्तिपुरमा चार वटा घर डुबानमा परेका उनले बताएका छन् ।

सुनडबरीका ७० वर्षीय निमबहादुर सार्कीको घरमा पानी पसेपछि उनको दुई जनाको परिवारलाई छोरा छबे सार्कीको घरमा स्थान्तरण गरिएको छ । यस्तै कान्तिपुरका ३६ वर्षीय रामबहादुर कुमालको घरमा पानी पसेपछि उनको परिवार छतमा बसेको र उद्धार कार्य भइरहेको प्रहरीले बताएको छ ।

स्थानीय ४० वर्षीय सुशील कुमाल र ६० वर्षीय दयाराम चौधरीको दुई तले कच्ची घरमा पानी पसेपछि उनीहरूको परिवार सुरक्षित ठाउँमा पुगेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख एवम् प्रहरी निरीक्षक (डीएसपी) शंकर श्रेष्ठले जानकारी दिएका छन् । डुबानमा परेका व्यक्तिहरूको उद्धारका लागि यहाँ १० जनाको प्रहरी टोली खटिएको छ ।

रातिदेखिको अविरल वर्षापछि ठाउँ–ठाउँमा पहिरो जाँदा कालाकाँटेदेखि गोबडिया हुँदै गढवा जोड्ने हुलाकी सडक खण्ड बन्द भएको छ । बाढी आई ठाउँठाउँमा हिलो माटो खसेको हुँदा सडक खण्ड बन्द भएको हो ।

यसैबीच दाङको तुलसीपुरबाट घोराही जाँदै गरेको एउटा जीप खोलामा आएको बाढीले बगाएको छ । तुलसीपुर उपमहानगरपालिका–१४ जनकपुरमा स्थानीय खोलामा आएको बाढीले बा ११ च १५११ नम्बरको जीप बगाएको हो । बाढीले बगाएको जीप निकाल्ने प्रयास भइरहेको प्रहरी सहायक निरीक्षक दीपक चन्दले जानकारी दिएका छन् ।

जीपमा चालकमात्रै रहेका र उनको उद्धार गरिएको प्रहरीले बताएको छ । दाङमा बिहानदेखि परिरहेको पानीका कारण नदी तथा खोलाहरूमा पानीको बहाव बढेको छ ।

प्रकाशित मितिः २०८० साउन ०९ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *