रक्सौल–काठमाडौं रेलमार्गका लागि सवा ४ खर्ब लाग्ने
काठमाडौं । रक्सौल–काठमाडौं रेलमार्ग निर्माणका लागि सवा ४ खर्ब रुपैयाँ (२ खर्ब ६० अर्ब भारु) लाग्ने भएको छ। भारतले नेपाललाई बुझाएको फाइनल लोकेसन सर्भे रिपोर्टले जग्गा मुआब्जाबाहेक ४ खर्ब बढी खर्च हुने देखाएको हो। आयोजनाका विभिन्न काममध्ये ‘सिभिल वर्क’ अर्थात पूर्वधार निर्माणका लागि मात्रै ३ खर्ब ८८ अर्ब रुपैयाँ लाग्ने रिपोर्टमा उल्लेख छ। बाँकी रकम मेकानिकल, आईटी, प्रशासनिक लगायतमा खर्च हुनेछ।
काठमाडौं–रक्सौल ब्रोडग्रेजमा विद्युतीय रेल सञ्चालन हुनेछ। विश्वका अधिकांश देशमा स्टान्डर्ड गेजमा रेलमार्ग निर्माण हुने गरे पनि भारतले ब्रोडग्रेजमै गर्ने बताएको छ। सामान्यतः ब्रोडगेजको लिक दुरी ५ फिट ६ इन्च हुन्छ भने स्टान्डर्ड गेजको लिक दुरी ४ फिट साढे ८ इन्च हुन्छ।
यसले रेलको गतिमा फरक पार्छ। स्टान्डर्ड गेजमा रेलको गति ३५० किलोमिटर प्रतिघण्टासम्म हुनसक्छ भने ब्रोडगेजमा अधिकतम १६० किमि मात्र हुन्छ। रेलमार्ग रक्सौलबाट सुरु भएर निजगढ हुँदै ललितपुरको खोकनामा स्टेसन रहने छ। भारतको रक्सौल, वीरगंज, मनहर्वा, सपहर बजार, निजगढ, धियाल, शिखरपुर, सिस्नेरी, सतिखेल हुँदै खोकना (काठमाडौं) सम्म रेलमार्ग निर्माण हुने छ। यो मार्गमा एक दर्जन स्टेसन रहने छन्।
‘१४० दशमलव ७९ किलोमिटरको रेलमार्ग बनाउनुपर्ने रिपोर्टले देखाएको छ’, रेल विभागका महानिर्देशक रोहितकुमार बिसुराल भने, ‘डबल लिकको रेलमार्ग बन्नेछ। जसमा कुल २४३ किलोमिटर बनाउन लिक हाल्नु पर्नेछ।’ कुल रेलमार्गमध्ये ४२ किमि दूरी सुरुङ हुँदै बनाउनु पर्नेछ भने १२४ वटा ठूला पुल निर्माण गर्नुपर्ने रिपोर्टमा उल्लेख छ। रेल विभागका अनुसार फाइनल लोकेसन सर्भे डीपीआरजस्तै विस्तृत अध्ययन भएको रिपोर्ट हो। रेलमार्गमा यात्रुबाहक र कार्गोगरी दुईथरी सञ्चालन हुने छन्। २०१९ को सर्भेका आधारमा प्यासेन्जर र ढुवानीका गरी १२ वटा रेल सञ्चालन गर्न सम्भव देखिएको छ।
नेपाल सरकारको आफ्नै स्रोतले यति ठूलो आयोजना निर्माण अघि बढाउन नसक्ने भएकाले भारत सरकारबाट सहयोग लिई निर्माण गर्नसक्ने बिसुरालले बताए। भारत सरकारले अनुदानमा डिजाइन गरेकाले निर्माणमा प्रश्न गर्ने धेरै ठाउँ नरहेको विभागले उल्लेख गरेको छ।
प्रकाशित मितिः २०८० साउन ०३ बुधबार