भक्तपुर नगरपालिकामा समसामयिक विषयमा सहकारीकर्मी भेला

भक्तपुर न्यूज

२ साउन २०८० १२:१२

भक्तपुर नगरपालिकामा समसामयिक विषयमा सहकारीकर्मी भेला

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारीबाट जम्मा भएको सामुदायिक विकास कोष जनताको हितमा ख्वप अस्पतालमार्फत थप सेवा प्रदान गर्ने बताएका छन् । भक्तपुर नगरपालिकाको आयोजनामा भएको सहकारीकर्मीहरुको भेलामा सम्बोधन गर्दै उनले आर्थिक कारोबारमा संलग्न पदाधिकारीहरु उदार हुन नहुने बताउँदै उदारताले नै संस्थाहरु डुब्ने बताए ।

२०२५ सालमा नवदुर्गा बहुमुखी संस्थाका पदाधिकारीहरुले गरेको भ्रष्टाचारविरुद्ध स्थानीय जनताले कारबाही गरेको सम्झनामा सहकारीकर्मीहरुको भेला आयोजना गरेको बताउँदै उनले भ्रष्टाचार गर्नेहरुलाई पदको कारण उन्मुक्ति दिन नहुने जनताको भावना रहेको उल्लेख गरेका छन् ।

 

भारत, जापान, दक्षिण कोरियामा प्रधानमन्त्री भइसकेका व्यक्तिहरुलाई समेत त्यहाँका अदालतले जेल र ज्यान सजाय दिएकोबाट नेपालले सिक्नुपर्ने बताउँदै उनले सहकारी संस्थाहरुले आर्थिक पारदर्शिता र अनुशासनमा बसी व्यापक जनताको हितमा काम गर्न मार्गनिर्देशन गरे ।

कार्यक्रममा सहकारी समितिका संयोजक एवम् वडा नं.२ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले सहकारी संस्थाहरुले सामुदायिक विकास कोषको रकम भक्तपुर नपालाई हस्तान्तरण गर्ने क्रम चालु रहेको बताउँदै उक्त कोषको रकम जनताकै हितको निम्ति प्रयोग हुने बताए ।

भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले सहकारीकोे संक्षिप्त इतिहासबारे प्रष्ट पार्दै समुदायमा आधारित सहकारीहरुले जनताको हितमा काम गर्नुपर्ने बताए । उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, जिल्ला बचत संघका अध्यक्ष कृष्णगोविन्द लाखाजु, वडा सदस्यद्वय श्यामसुन्दर मातां र नारायणप्रसाद त्वानाबासु समेतले बोलेका थिए ।

प्रकाशित मितिः २०८० साउन ०२ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *