सुनिल प्रजापतिद्धारा ख्वप कलेजमा ‘सामाजिक कार्य’ विषय अध्ययनरत विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण

भक्तपुर न्यूज

१३ फागुन २०७७ ७:२७

सुनिल प्रजापतिद्धारा ख्वप कलेजमा ‘सामाजिक कार्य’ विषय अध्ययनरत विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप गत माघ १५ गतेदेखि २० गतेसम्म भएको छिमेकी शिविर २०७७’ को रिपोर्ट प्रस्तुति तथा प्रमाणपत्र वितरण कार्यक्रम बुधबार सम्पन्न भयो ।

कार्यक्रममा बोल्नु हुँदै नगर प्रमुख प्रजापतिले विद्यालय तथा कलेजहरुले विद्यार्थीहरुमा सैद्धान्तिक र व्यावहारिक ज्ञानलाई प्राथमिकता दिई अध्ययन अध्यापन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । छिमेकी शिविरमार्फत विद्यार्थीहरुले भक्तपुरको शिक्षा, स्वास्थ्य, जनजीवन र विपद् व्यवस्थापनबारे ज्ञान हासिल गर्ने मौका पाएको बताउनुहुँदै कुनै पनि विषयमा ‘सय पटक पढ्नु र एक पटक हेर्नु’ बराबर हो भने ।

उनले भक्तपुरको शैक्षिक विकाससँगसँगै सामाजिक परिवर्तन र शिक्षामा छात्रा विद्यार्थीहरुको संख्या तुलनात्मक रूपमा बढिरहेको सकारात्मक पक्ष हो भन्नुहुँदै विद्यार्थीहरुले आफूमा भएको घमण्ड र अहम् त्यागेर व्यवहारिक शिक्षा आर्जनमा जोड दिनुपर्ने बताए ।

भक्तपुर नपाद्वारा सञ्चालित कलेज र अरु कलेजको शैक्षिक विशेषता र भिन्नताबारे प्रष्ट पार्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले राष्ट्रिय-अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम नागरिक तयार गर्ने उद्देश्य बाकेको बताए ।

ख्वप कलेजका प्राचार्य रुपक जोशीले विद्यार्थीहरुको मागअनुसार ख्वप कलेजमा नयाँ नयाँ विषयहरु थप गर्दै लगिरहेको जानकारी दिनुहुँदै आगामी दिनहरुमा पनि आवश्यक विषयहरु थप गर्ने विषयमा लागिरहेको बताए ।

सोही कार्यक्रममा ख्वप कलेजका सहप्राचार्य राजेशकुमार श्रेष्ठले सामाजिक विषय अध्ययनको उद्देश्य समाजसँग प्रत्यक्ष सहभागिता जनाएर सामाजिक हितको निम्ति काम गर्नुपर्ने र विद्यार्थीहरु सामाजिक विकृतिविरुद्ध डटेर लाग्न अभिप्रेरित गरे । कार्यक्रममा बीए र बीएएसडब्लूका इन्चार्ज कमिनिका न्याइँच्याइँ र फिल्ड प्रशिक्षक सुन्दर श्रेष्ठले पनि बोल्नुभएको थियो ।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले ख्वप कलेजमा स्नातक तहमा सामाजिक कार्य विषय लिई अध्ययनरत रिपोर्ट प्रस्तुतीकरण गर्ने विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा भक्तपुर जिल्लास्थित भक्तपुर नपा, मध्यपुर नपा, सूर्यविनायक नपा र चाँगुनारायण नपाको सामाजिक कार्यबारे गरिएको शिविरको रिपोर्ट प्रस्तुतीकरण देखाएका थिए ।

सोही दिन बिहान नगर प्रमुख प्रजापतिले ख्वप माध्यमिक विद्यालयको २१ औं ख्वप कलेजको १९ औं र शारदा क्याम्पसको २० औं वार्षिक उत्सव कार्यक्रम २०७७ को अवसरमा आयोजित दौड प्रतियोगिताको पनि उद्घाटन गरे ।

प्रकाशित मितिः २०७७ फागुन १३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *