कोरोनाबाट मृत्यु भएकाको संख्या सच्याउदै स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट मृत्यु भएकाको संख्या सच्याउने भएको छ । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) ले बुधबार छानबिन समितिको प्रतिवेदन अनुसार सच्याउने निर्णय गरेसँगै मृतकको संख्या ७ सय २३ ले बढ्ने भएको छ ।
मन्त्रालयले बुधबारसम्म २ हजार ५५ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयको निर्णयअनुसार यो संख्या २ हजार ७ सय ७८ हुने स्रोतले जनाएको छ । यो तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुने दर १ प्रतिशत नाघेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले कोरोनाका कारण मृत्यु भएकाको संख्या विश्लेषण गरिएअनुसार अद्यावधिक गर्ने निर्णय भएको बताए । मन्त्रालयले मृतकको अद्यावधिक विवरण सार्वजनिक गर्न बाँकी छ ।
नेपाली सेनाले भने मंगलबारसम्म २ हजार ९ सय ९२ जनाको शव व्यवस्थापन गरिसकेको जनाएको छ । सेनाले कोरोना पुष्टि भएको पीसीआर रिपोर्ट र मृत्यु भएको प्रमाणपत्रका आधारमा मात्रै शव व्यवस्थापन गर्दै आएको छ । ‘सेनाले शव व्यवस्थापन गरिसकेको भनिएका अरू २ सय १४ जनाको कोरोनाकै कारणले मृत्यु भएको हो वा होइन अझै पुष्टि हुन बाँकी छ,’ मन्त्रालय स्रोतले भन्यो ।
मन्त्रालयले सार्वजनिक गरेको मृतकको संख्या र नेपाली सेनाले शव व्यवस्थापन गरेको संख्यामा ९ सयभन्दा बढी फरक परेपछि छानबिन समिति गठन गरिएको थियो । सेनाले अन्त्येष्टि गरेकाजति सबै कोरोनाले नै मृत्यु भएका हुन् कि होइन भनेर पुष्टिका लागि सम्भावित कोरोनाको परिभाषा तय गर्न मन्त्रालयले ईडीसीडीलाई जिम्मेवारी दिएको छ । विश्व स्वास्थ्य संगठनले गरेको सम्भावित कोरोनाको परिभाषाका आधारमा मृत्यु भएका व्यक्तिको थप पहिचान गरिने ईडीसीडीले जनाएको छ ।
आईसीएसका पदाधिकारीको बुधबार बसेको बैठकको छलफलअनुसार कोभिडका कारण मृत्यु भएका व्यक्तिहरूको तथ्यांक अस्पतालहरूले नराख्ने र रिपोर्टिङ नगर्ने गरेको पाइएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । यसरी विवरण नराख्ने र रिपोर्टिङ नगर्ने अस्पतालका पदाधिकारीलाई संक्रामक रोग ऐनको दफा ३ बमोजिम कारबाही गर्ने उनले बताए ।
सेनाले शव व्यवस्थापन गरेको तर मन्त्रालयको रेकर्डमा छुटेकालाई पीसीआर रिपोर्ट र अस्पतालको प्रमाणका आधारमा मृतकको संख्यामा थप गरिएको स्रोतले जनाएको छ । यसरी समेटिएकामध्ये सबैजसोको मृत्यु अस्पतालमा भएको थियो । ‘होम आइसोलेसनमा मृत्यु भएकामध्ये केहीलाई कोरोनाले मृत्यु भएकाको विवरणमा समेटिएको छ,’ स्रोतले भन्यो ।
प्रकाशित मितिः २०७७ फागुन ६ बिहीबार