जाडोमा तुलसी सेवन गर्नुका यस्ता छन् फाइदाहरु

भक्तपुर न्यूज

२८ माघ २०७७ ७:५१

जाडोमा तुलसी सेवन गर्नुका यस्ता छन् फाइदाहरु

काठमाडौं । तुलसी बहुउपयोगी एवं औषधीय गुणले सम्पन्न बनस्पति हो । तुलसीको यही विशेषताको लागि हिन्दू धर्मावलम्बीहरूले घर-आँगनमा मठ बनाएर रोप्ने र पूजा गर्ने गर्दछन् ।

आर्युवेदमा पनि तुलसीको विशेष महत्वको रहेको छ । धार्मिक आस्थाको हिसाबले यसलाई हिन्दूहरूले भगवान बिष्णुको अवतार माने तापनि तुलसीलाई एउटा वनस्पतिको रुपमा मात्र लिने हो भने औषधीको रुपमा यसले सबै मानवजातिलाई कल्याण नै गर्दछ ।

झन् जाडो याममा तुलसी निकै उपयोगी साबित हुन्छ । किनभने जाडोमा रुघा, ज्वरो, निमोनिया, गलाको समस्या, फोक्सोको समस्या आदि हुने गर्छ । यस्तो अवस्थामा तुलसीले अचूक औषधीको काम गर्छ ।

नियमित रुपमा तुलसी सेवन गर्ने व्यक्तिलाई रोगको संक्रमण हुँदैन । तुलसी सेवन गरिरहँदा अनेकौं रोगबाट सुरक्षित भइन्छ । तर त्यसका लागि सेवन गर्ने विधि भने थाहा हुनुपर्छ । बिहान खाली पेटमा तुलसीको चार पाँच वटा पातलाई पिसेर दुई चम्चा पानीसँग सेवन गर्न सकिन्छ । उक्त पातलाई यत्तिकै चपाएर पनि सेवन गर्न सकिन्छ ।

सेवन विधि एवं फाइदाहरू :

१.तुलसीको प्रयोगले छातीमा चिसो लाग्न पाउँदैन । यदि चिसो लागेको छ भने कफ निकाल्छ । छातीको दुखाइ पनि कम गर्छ । तुलसीको अद्भूत क्षमताले स्वास प्रणालीको झिल्लीमा पनि सकारात्मक प्रभाव पार्दछ ।

२.निमोनिया वा मलेरियाको ज्वरोमा तुलसी र मरिचको तीन दाना एक चम्चा पानीमा घोलेर केही दिन पिउँदा ज्वरो निको पार्दछ ।

३.अदुवा, मरिच र तुलसीको मिश्रणको चिया पिउनुपर्छ, स्वास्थ्यमा निकै फाइदा गर्छ । तुलसीको चिया बनाउनका लागि पात चाहिन्छ । त्यसलाई सुकाएर चूर्ण बनाउनुपर्छ । त्यसमा राम्ररी पिसेको मरिच र सुख्खा अदुवाको सूठो मिसाउनुपर्छ ।

अब यो मिश्रणलाई तातो पानीमा उमालेपछि पाँच मिनेटजति ढक्कनले छोप्नुपर्छ । त्यसमा एक सय ग्राम जति सख्खर हालेर सेवन गरेमा यसले चिसो लागेको, टाउको दुखेको, नाक बन्द भएको, पिनास, श्वास नली बन्द भएको समस्याबाट मुक्ति दिलाउँछ ।

४. तुलसीलाई दुधसँग मिसाएर सेवन गर्दा थप लाभ गर्छ । यस्तो मिश्रण खाली पेटमा सेवन गर्दा प्रभावकारी हुन्छ । यदि कसैलाई दम वा श्वासप्रश्वास सम्बन्धी समस्या छ भने दुध र तुलसी सेवन गर्नुपर्छ । बिहान खाली पेटमा नियमित दुध र तुलसी सेवन गर्दा फाइदा हुन्छ ।

५.टाउको दुख्ने समस्या छ भने पनि तुलसीको पात र दुधको मिश्रण उपयोगी हुन्छ । यसले हरेक उमेरका व्यक्तिलाई मद्दत गर्छ । माइग्रेन जस्तो समस्यामा पनि यो उत्तिकै लाभदायक हुन्छ । यसैगरी, मुटुसम्बन्धी समस्या हुने व्यक्तिले बिहान खाली पेटमा दुध र तुलसी सेवन गर्नुपर्छ ।

६.यस किसिमको पेयले स्नायु प्रणालीलाई आनन्दित तुल्याउँछ जसले तनावको स्तर कम गर्छ । डिप्रेसन वा चिन्ताको अवस्थामा तुलसी र दुधको मिश्रण एकदमै प्रभावकारी औषधी हो । बढी नै तनाव हुने गरेको छ भने दिनहुँ १२ वटा तुलसीको पत्ता खाने गर्नुपर्छ । यसमा पाइने तत्वले शरीरमा स्ट्रेस हर्मोनको मात्रालाई कम गर्छ ।

७. श्वास गनाउँछ भने तुलसी र अदुवा पानीमा राखी उमाल्ने र यसमा महमा हालेर खाने । यसो गर्दा श्वासको दुर्गन्ध हराउँछ ।

८ .तुलसीपातको सेवनले किड्नी बलियो बनाउँछ । मह र उमालेको तुलसीपातका पानी पिउनाले किड्नीमा देखापरेको पथरी छ महिनामा हट्ने सम्भावना रहन्छ ।

९ .तुलसी खाने गर्नाले रगतमा कोलेस्ट्रोलको मात्रा घट्छ । त्यही भएर मुटुसम्बन्धी रोगीका लागि तुलसी ज्यालै लाभदायक हुन्छ ।

१० .अल्सर र मुखसम्बन्धी रोगका लागि पनि तुलसीको पात खानु राम्रो हो । दिनहुँ तुलसीका पात चपाएर खानाले मुखमा आएका घाउखटिरा हराएर जान्छन् ।

११. दाद, लुतोलगायत छालासम्बन्धी समस्याले हैरान बनाएको छ भने तुलसी पिनेर संक्रमणग्रस्त ठाउँमा लगाउँदा राहत मिल्छ ।

तुलसीको पत्ता सुकाएर यसमा तोरीको तेल मिसाइ दाँत माझ्ने गर्नाले मुख गनाउने समस्या हटेर जान्छ ।

प्रकाशित मितिः २०७७ माघ २८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *