विदेशी विद्यार्थीलाई डिपोर्ट गर्ने निर्णय अमेरिकाले लियो फिर्ता

भक्तपुर न्यूज

३१ असार २०७७ ९:४३

विदेशी विद्यार्थीलाई डिपोर्ट गर्ने निर्णय अमेरिकाले लियो फिर्ता

काठमाडौं । विदेशी विद्यार्थीलाई डिपोर्ट गर्ने निर्णय अमेरिकाले फिर्ता लिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले पूर्ण रुपमा अनलाइन कक्षा रहेका विदेशी विद्यार्थी अमेरिका बस्न नपाउने नियम ल्याएको एक साता नबित्दै उक्त निर्णय फिर्ता गरेको हो ।

ट्रम्प प्रशासनको उक्त निर्णयको चौतर्फी आलोचना भएपछि अमेरिकाको इमिग्रेसन एण्ड कस्टम्स इनफोर्समेन्ट (आइसीइ) ले उक्त निर्णय फिर्ता लिइएको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

अमेरिकाले गत हप्ता पठन–पाठन पूर्ण रुपमा अनलाईन गरेका विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थी यो शरद ऋतुमा अमेरिका बस्न नपाउने नीति सार्वजनिक गरेपछि हार्वर्ड विश्वविद्यालय र मासाचुसेट्स इन्स्टिच्युड अफ टेक्नोलोजी (एमआइटी) ले मुद्दासमेत दायर गरेका थिए ।

सरकारले निर्णय फिर्ता लिएसँगै उक्त मुद्दा पनि सहमतिमा टुंगिएको मासाचुसेट्सका जिल्ला न्यायाधीश एलिसन बुरोजले बताएकी छन् ।

सहमति अनुसार गएको मार्चमै लागु भएको नियम कार्यान्वयनमा हुनेछ । जसअनुसार विदेशी विद्यार्थी कानूनी रुपमा अमेरिकामै रहेर अनलाइनबाट पनि कक्षा लिन सक्ने द न्यूयोर्क टाइम्सले जनाएको छ ।एजेन्सी

प्रकाशित मितिः २०७७ असार ३१ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *