क्लिनफिड कार्यक्रम कार्यान्वयनमा, विदेशी विज्ञापन डबिङ गरी प्रसारण गर्न नपाइने
काठमाडौं । सरकारले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिनफिड) कार्यक्रम प्रसारण गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमातहतको सूचना तथा प्रसारण विभागले सोमबार क्लिनफिड नीतिसम्बन्धी ऐनमा नै स्पष्ट व्यवस्था भइसकेको भन्दै सोही अनुसार प्रसारण गर्न गराउन नेपाली सञ्चारमाध्यमहरुलाई सूचना जारी गरेको हो।
विज्ञापन (नियमन गर्ने|) ऐन २०७६ को दफा ६ को उपदफा १ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्ने व्यवस्था गरेको छ। त्यस्तै सोही ऐनको उपदफा २ मा उपदफा १ मा जुनसुकै कुरा लेखिएको भए पनि ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिंक गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको एक वर्षभित्र विज्ञापनरहित प्रसारण गर्नुपर्ने व्यवस्था छ।

उक्त व्यवस्था र सोही ऐनको दफा ६ को उपदफा ३ मा विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था रहेकाले विभागले सञ्चारमाध्यमलाई उक्त निर्देशन दिएको हो।
त्यस्तै विभागले गत जेठ २५ गते २३ वटा इन्टरनेट सेवा प्रदायकलाई समेत पत्राचार गर्दै क्लिनफिड कार्यक्रम लागू भए÷नभएको अनुगमन तथा निरीक्षण गर्नका लागि ती संस्थाबाट प्रसारण हुने सम्पूर्ण च्यानलहरुलाई क्युएएम भन्दा पहिलेको फाइनल आईपी (एमपीटीएस)लाई डार्क कोर फाइबरमार्फत लकडाउन खुलेको १५ दिनभित्र विभागमा उपलब्ध गराउन निर्देशन दिएको छ।
प्रकाशित मितिः २०७७ असार १ सोमबार
