कोरोना अपडेट : इण्डोनेशियामा एक जनाको मृत्यु ,विश्वभर ४३ सय जनाको ज्यान गयो
काठमाडौं । इण्डोनेशियाले कोरोना भाइरसका कारण पहिलो पटक आफ्नो मुलुकमा १ जनाको ज्यान गएको जनाएको छ । इण्डोनेशियाको कोरोना भाइरस नियन्त्रण एवं रोकथाम कार्यदलले मुलुकमा पहिलो पटक कोरोना भाइरसका कारण १ जनाको ज्यान गएको पुष्टि गरेको हो । मृत्यु हुनेमा ५३ वर्षे विदेशी महिला छिन् ।
कोरोना भाइरलको संक्रमण देखिनुअघि नै उनीमा उच्च रक्तचाप, फोक्सोमा समस्या र थाइराइडजस्ता स्वास्थ्य समस्या रहेको उक्त कार्यदलका प्रवक्ताले जनाएका छन् ।
स्थानीय समयानुसार बुधबार बिहान २ बजे ती बिरामीको मृत्यु भएको जनाइएको छ । मृतकबारे सम्बन्धित दूतावासलाई जानकारी गराइएको भए पनि मृतकको पहिचान सार्वजनिक गरिएको छैन ।
यस्तै, इण्डोनेशियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७ पुगेको छ । इण्डोनेशियामा गत साता पहिलो पटक कोरोना भाइरसका संक्रमित देखा परेका थिए । कोरोना भाइरसको त्रासलाई मध्यनजर गर्दै मुलुकले उच्च सतर्कता अपनाइरहेको समेत अधिकारीले जनाएका छन् ।
हाल १ सय १९ भन्दा बढी देशमा कोरोनाको संक्रमण भेटिएको छ। कोरोना भाइरसका कारण विश्वभर हालसम्म ४ हजार ३ सय जनाको ज्यान गइसकेको छ भने अरु १ लाख १९ हजार संक्रमित छन् ।एजेन्सी
प्रकाशित मितिः २०७६ फागुन २८ बुधबार