ब्रिटिश सरकारले सिप नभएको कामदारलाई भिसा नदिने
काठमाडौं । ब्रिटिश सरकारले सार्वजनिक गरेको नयाँ आप्रवसन योजनामा न्यून दक्षता भएका कामदारलाई भिसा नदिने बताएको छ।नयाँ योजनाअनुसार अब सरकारले रोजगारदातालाई युरोपका सस्ता कामदारमा ध्यान नदिन र कुशल कामदार खोज्न अनि प्रविधिको भरपुर उपयोग गर्न प्रोत्साहन गर्नेछ।
योजनाअनुसार विदेशी कामदारले राम्रो अंग्रेजी बोल्नुपर्नेछ, सीप पुरा जानेको हुनुपर्नेछ भने प्रायोजकको स्विकृती लिएको हुनुपर्नेछ।बेलायतमा कामको लागि आउने विदेशी कामदारले निर्धारण गरिएको मापदण्डअनुसार ७० अंक अवश्य प्राप्त गर्नुपर्नेछ।
‘एडाप्ट एन्ड एडजस्ट’ नाम दिइएको कार्यक्रमअनुसार कामदारको सीप, भाषा र योग्यता मापन हुनेछ।
डिसेम्बर ३१ मा यूके र युरोपेली युनियनबीच खुला आवतजावतको व्यवस्थाको अन्त्यपछि युरोप र अन्यत्रका नागरिकहरूलाई समान व्यवहार गरिने गृह मन्त्रालयले जनाएको छ। प्रतिपक्षी लेबर पार्टीले भने यस्तो “असहज वातावरण”ले कामदारहरूलाई आकर्षण गर्न गार्हो हुने बताएको छ।
सरकारले मौसमी कृषि कामदारहरूको सङ्ख्या बढाएर १०,००० र युवा लक्षित आवतजावत योजना अन्तर्गत प्रत्येक वर्ष २०,००० युवा यूके आउन दिने बताएको छ।
नयाँ योजना अन्तर्गत कुनै पनि आप्रवासी कामदारहरूले स्थायी रूपमा यूकेमा बस्न पाउने अनुमति नपाएसम्म अन्य आयसँगसम्बन्धित सरकारी सहुलियत प्राप्त गर्न सक्ने छैनन्। त्यस्तो अनुमति प्राप्त गर्न कामदारहरूका हकमा सामान्यतया पाँच वर्ष लाग्छ। नयाँ योजना अन्तर्गत यूके आउनसक्ने सिप भएका कामदारहरूको सङ्ख्यामा सिमा भने तोकिने छैन। बीबीसी
प्रकाशित मितिः २०७६ फागुन ७ बुधबार