काठमाडौं भित्रियो १२ टन तरुल, किन खाने?

भक्तपुर न्यूज

२८ पुष २०७६ ९:१०

काठमाडौं भित्रियो १२ टन तरुल, किन खाने?

काठमाडौं । माघेसंक्रान्ति नजिकिँदै जाँदा काठमाडौंकै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार कालिमाटीमा तरुलको कारोबार ह्वात्तै बढेको छ। अहिले घर तरुल, बन तरुल, हात्ती पाइले तरुल, सर्लाहीको तरुलसँगै सखरखण्ड तथा पिँडालुको धमाधम बिक्री भइरहेको छ।

कालिमाटी बजारमा सोमबारसम्म १२ सय टन तरुल भित्रिएको कालीमाटी तरकारी तथा फलफूल बजारका उपनिर्देशक विनय श्रेष्ठले बताए। यो गत वर्षको भन्दा बढी हो। गत वर्ष यो सिजनमा एक हजार टन तरुल भित्रिएको थियो। काठमाडौंमा भित्रिने अधिकांश तरुल सर्लाहीबाट आउने गरेको उनले बताए।

सोमबारसम्म सर्लाहीबाट मात्रै ५ सयभन्दा बढी टन तरुल आएको छ। यो बाहेक धादिङ, चितवन, मकवानपुरबाट समेत तरुल उपत्यकामा भित्रिने गर्दछ। तर भारतीय तरुल भने अहिलेसम्म जम्मा ४० टनमात्रै भित्रिएको उनले जानकारी दिए।

यस्तै २ सय २८ टन सखरखण्ड काठमाडौं भित्रिएको छ भने १ सय ७२ टन पिँडालु पनि उपत्यका भित्रिएको श्रेष्ठले बताए। यो सबै गत वर्षको तुलनामा बढी हो।

 मूल्य पनि बढ्यो

आयात धेरै भए पनि यो वर्ष तरुलको मूल्य बढेको छ। विनय श्रेष्ठका अनुसार गत वर्ष ५० देखि ५५ रुपैयाँ प्रतिकिलो रहेको सर्लाहीको तरुलको मूल्य यो वर्षका लागि ७० देखि ८० रुपैयाँ निर्धारण गरिएको छ।

गत वर्ष सय रुपैयाँभन्दा बढी रहेको हात्ती पाइले तरुल यो वर्ष ८० देखि सय रुपैयाँमा बजारमा बिक्री भइरहेको उनले जानकारी दिए।

यस्तै, घर तरुल तथा बन तरुलको मूल्य पनि गत वर्षको तुलनामा कम रहेको श्रेष्ठले जानकारी दिए।

जाडोमा किन खाने तरुल?

जाडो मौसममा शरिरलाई अत्यावश्यक तत्व तरुलमा पाइने भएकाले पनि यो समयमा तरुल खानु पर्ने डाक्टर शेरबहादुर पुन बताउँछन्।

‘जाडोमा रोग प्रतिरक्षात्मक क्षमता कम हुन्छ। रोगसँग लड्ने तत्व तरुललगायतका फलमा पाइने हुनाले यो समयमा तरुल खानु आवस्यक छ,’ उनले भने।

जाडोमा संक्रमण पनि बढी हुने बताउदै भिटामिन, मिनरल्स तथा लवण बढी पाइने तरुलसँगै कन्दमूल तथा सखरखण्ड खानु स्वास्थ्यको लागि राम्रो हुने  डाक्टर पुनले बताए।

प्रकाशित मितिः २०७६ पौष २८ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *