जाडो याममा यसरी गर्न सकिन्छ छालाको रेखदेख
काठमाडौं । अत्यधिक चिसो बढेसँगै विभिन्न छालाका समस्या देखिने भन्दै रेखदेखका लागि सतर्कता अपनाउनुपर्ने चिकित्सकले बताएका छन्। जाडो सुरुभएसँगै पहाडी–हिमाली क्षेत्रमा न्यून तापक्रम, तराईमा चिसो सिरेटो तथा बाक्लो हुस्सु र शीतलहरले विभिन्न स्वास्थ्य समस्या आउनसक्छ।
जाडोमा हावामा मिसिएका रसायन, धुलोधुवाँ आदिले छालामा सिधै असर पार्ने हुँँदा यो मौसममा छालाको राम्ररी हेरचाह गर्नुपर्ने शर्माको भनाइ छ। चिसो मौसममा वातावरणीय कारणले छाला सुक्खा हुने, चिलाउने, कत्ला आउने, छाला रातो हुने, डाबर आउनेलगायत समस्या आउन सक्छन्।
यसका साथै कतिपय अवस्थामा चिसो पानी चलाउँदा औंलाको रंग परिवर्तन भई सेतो, निलो, रातो हुनुका साथै सुन्निने र झमझमाउने समस्या आउनसक्छ।
चिसोको प्रभावले छालाका जटिल रोग आउनुका साथै यो समस्या बढ्न पनि सक्छ । एक्जिमा,जाबे (अर्टिकेरिया),घुँडामुनिको सुक्खा एलर्जी (एस्टीबटीक एक्जिमा), बच्चामा गाला फुट्ने, कपालमा अत्यधिक चाँया,ओठ, खुट्टा तथा औंलाका टुप्पा फुट्ने, एलर्जी बढ्ने आदि समस्या आउन सक्छ। बाथका बिरामीमा हातखुट्टा सुन्निने र रंग परिवर्तन हुनेलगायत समस्या देखिन सक्छ।
जाडोमा आउनसक्ने छालाका समस्याबाट जोगिन निम्नअनुसार उपाय अपनाउन सकिन्छः
-बाक्लो र न्यानो कपडाको प्रयोग गनुपर्छ । उनीको कपडा प्रयोग गर्दा भित्री कपडा सुतीको हुन आवश्यक छ।
-हातखुट्टामा पन्जा र बाक्लो मोजा लगाउनुपर्छ। बाथ तथा चिलब्लेन्सका बिरामीले डबल मोजातथा पन्जा प्रयोग गर्नुपर्छ।
-दराजमा लामो समयसम्म राखेको कपडा नधोइकन लगाउनु हुँदैन। यस्तो कपडा लगाएमा छालामा एलर्जी हुन सक्छ।
-आफू बस्ने तथा सुत्ने कोठा तातो राख्नुपर्छ। कोठा तातो बनाउनका लागि अत्यधिक हिटर प्रयोग गर्नु हुँदैन।
-अत्यधिक आद्र्रता भएमा नाक,आँखा, मुख आदि सुक्खा भएर समस्या आउन सक्छ।
-छालालाई मुलायम र ओसिलो राख्न मोइस्चराइजर, क्रिम वा लोसन नियमित प्रयोग गर्नुपर्छ। तर, जेल प्रयोग कदापि गर्नु हुँदैन।
-मोइस्चराइजरका रूपमा छालामा एलोभेरा (घ्यूकुमारी), भेसेलिन, लिक्वीड प्याराफिन,नरिवल तथा जैतूनको तेल प्रयोग गर्नु उत्तम मानिन्छ।
-ज्यादा तातोपानीले छालामा असर पार्ने हुँदा चिसो वा मनतातो पानी प्रयोग गर्नुपर्छ।
-छालामा तैलीय मात्रा कमी हुन नदिन ५ देखि १० मिनेटभन्दा बढी समय लगाएर नुहाउनु हुँदैन। नुहाएको तीन मिनेटभित्रै शरीर वा टाउकोमा चिल्लो पदार्थ लगाउनुपर्छ।
-जाडोमा साबुन प्रयोग गर्नु भनेको छालाको प्राकृतिक नरमपना रित्याउनु हो। जेलयुक्त क्लीजिङको प्रयोग गर्दा यसले छालालाई मुलायम बनाउन मद्दत गर्छ।
-जाडोमा पानीको आद्र्रता कम हुने भएकाले छालामा सिधा असर पर्छ। दैनिक २-३ लिटर मनतातो पानीको साथै झोलिलो पदार्थ प्रशस्त मात्रामा सेवन गर्नुपर्छ।
-शरीर वा छालामा समस्या देखापरे तुरुन्तै चिकित्सकको परामर्श लिनु उपयुक्त हुन्छ।
प्रकाशित मितिः २०७६ पौष १८ शुक्रबार