यी खानेकुरा सँगै मिसाएर खाँदा बढी लाभदायक
काठमाडौं। हामीले के खान्छौँ भन्नेले मात्र नभइ कुन खानेकुरासँग के खान्छौँ भन्ने पनि स्वास्थ्यका हिसाबले अत्यन्तै महत्वपूर्ण हुन्छ । किनकि केही खानेकुरा एकसाथ खाँदा हाम्रो शरीरले बढी मात्रामा पोषक तत्वहरु प्राप्त गर्दछ ।
उदाहरणका लागि स्ट्रबेरी फलसँग साग खानु अत्यन्तै लाभदायी मानिन्छ । हाम्रो पेटको पिएचले सागपातमा हुने आइरनलाई सोस्न कठिन बनाइरहेको हुन्छ । त्यसैले भिटमिन सी सेवन गर्नुले ठूलो मद्दत गर्न सक्छ । भिटामिन सीको एसिडिटीले आइरनलाई सजिलै सोस्न सकिने तत्वमा परिणत गराइदिन्छ ।
जस्तै केबल १०० मिलिग्राम भिटामिन सीले मात्र पनि आइरन सोस्न सक्ने क्षमतालाई ४ गुणाले बढाइदिन्छ । सँगसँगै खानुपर्ने अर्को खानेकुरा हो कालो सिमी र रातो क्याप्सिकम ।
त्यसैगरी अण्डासँग काँचो तरकारी खानु पनि स्वास्थ्यका लागि अत्यन्तै फाइदाकारक साबित हुन्छ । काँचो तरकारीहरुमा रोगहरुसँग लड्न मद्दत गर्ने ‘केरोटेनोइड्स’ तत्व पाइन्छ ।
र, सो तत्व हाम्रो शरीरले सजिलै सोस्न सक्दैन । यस्तोमा अण्डाको पहेँलो भागले तिनलाई पचाउन र शरीरलाई धेरै भन्दा धेरै पोषक तत्व लिन मद्दत गर्दछ । काँचो तरकारीसँग तीनवटा पकाएको अण्डा सेवन गर्दा तीन गुणा बढी कारोटेनोइड्स सोस्न सकिन्छ ।
यसैगरी बेसार र मरिच पनि एकसाथ सेवन गर्नुले अधिक फाइदा गराउन सक्छ । बेसारमा एउटा ‘कर्क्युमिन’ नामक पिगमेन्ट हुन्छ । अध्ययनका अनुसार करक्युनिमले मस्तिष्क, मुटु, फोक्सो र पाचन सम्बन्धी रोगहरु ठीक गर्न र तिनीहरुबाट जोगाउन पनि सक्छ । त्यस्तै यसले स्व–प्रतिरक्षित अर्थात ‘अटोइम्युन’ र घातक संक्रमणबाट पनि बचाउँछ ।
तर हाम्रो पेटलाई कर्क्युमिन सोस्नमा एकदम कठिनाइ हुने गर्दछ । यसको समाधानमा मरिच ठूलो सहयोगी हुन सक्छ ।
एक अनुसन्धानमा केबल २० मिलीग्राम मरिच २ ग्राम कर्क्युमिनमा मिसाउनाले शरीरमा उपलब्ध कर्क्युमिनको मात्रा २ हजार प्रतिशतसम्म बढ्न सक्ने पाइएको हो । तर अधिक धेरै कर्क्युमिनले किड्नी स्टोनको जोखिम बढाउन सक्छ । यसैगरी सागसब्जी र काँचो फलफुलको सलाद खाँदा त्यसमाथिबाट अलिभ ओयललगायत तेल राख्नुले हामीलाई अतिरिक्त मात्रामा स्वस्थकर फ्याट प्रदान गर्न सकछ । यसले सलादको क्यारोटेनोइड बढी भन्दा बढी सोस्नमा मद्दत गर्दछ ।
मासु र रोजमेरीलाई पनि पोषण तत्वका आधारमा मिसाएर खाँदा सबैभन्दा राम्रो मानिन्छ । मासुलाई उच्च तापमानमा पकाउँदा त्यसले ‘हेटेरोसाइक्लिक एमाइन्स’ विकसित गराउँछ जसमा क्यान्सर पैदा गर्न सक्ने तत्व रहेको केही अध्ययनले देखाएका छन् ।
तर रोजमेरीमा हुने एन्टिअक्सिडेन्टले हेटेरो साइक्लिक एमानन्सबाट बचाउन सक्छ । मासु पाक्नु अगाडि रोजमेरी थप्नुले ५० देखि ९० प्रतिशत सम्म हानिकारक तत्वलाई कम गराउन सक्छ । सखरखन्डा र साग पनि एकसाथ खाँदा बढी फाइदा हुने बताइएको छ । सखरखन्डामा अधिक मात्रामा भिटमिन ए पाइन्छ । तर हाम्रो शरीरलाई भिटमिन ए लाई रगतसम्म पुर्याउन जिङ्कको आवश्यक पर्दछ ।
अध्ययनका अनुसार शरीरमा कम जिङ्क भएका मानिसहरुको कलेजोले अन्यको तुलनामा भिटामिन ए उत्सर्जन गर्न सक्दैन । त्यसैले पनि सखरखण्डसँग धेरै मात्रामा जिङ्क भएका खानेकुरा खानुपर्छ ।
प्रकाशित मितिः२०७६ मङ्सिर २३ सोमबार