शौचालयमा फोन चलाउँदा पाइल्स हुने खतरा
काठमाडौं । अचेल मोबाइल फोन मान्छेको दिनचर्याको अनिवार्य हिस्सा भइसक्यो। खाना खाँदा, बाटोमा हिँड्दासमेत कतिपय मोबाइलमै झुन्डिरहेका हुन्छन्। शौचालयमा फोन प्रयोग गर्ने मान्छे धेरै छन्। डाक्टरहरूले दिसा गरिरहँदा फोन चलाउनु स्वास्थ्यका दृष्टिकोणले खराब भएको चेतावनी दिएका छन्। शौचालयमा फोन चलाउँदा पाइल्स हुने सम्भावना रहने बताइएको छ।
मोबाइल बोकेर शौचालय छिरेपछि धेरै बेर बसिन्छ। फोनले शौचालय प्रयोगको समय लम्ब्याउँछ। जसले गर्दा पाइल्स हुने जोखिम बढ्छ। हालसालै ब्रिटेनमा डाटा कम्पनी ‘युगभ’ले मोबाइल फोन प्रयोगसम्बन्धी एउटा सर्भे गरेको थियो। सर्वेक्षणमा सहभागी ५७ प्रतिशतले शौचालयमा फोन प्रयोग गर्ने बताएका थिए। आठ प्रतिशतले मोबाइल फोन नबोकी शौचालय छिर्दै नछिर्ने बताएका थिए।
प्यासिएन्ट डट इन्फोकी क्लिनिकल डाइरेक्टर डा. सराह जार्भिसले शौचालयमा धेरै समय मोबाइल फोन चलाउँदा पाइल्स हुने सम्भावना बढ्ने बताइन्। ‘दिसा बस्दा कन्नुपर्ने अवस्था र कब्जियतले पाइल्स हुन्छ,’ डा. जार्भिसले भनिन्, ‘शौचालयमा धेरै बेर बस्दा पनि पाइल्सको समस्या हुन सक्छ।’ उनले शौचालयमा फोन चलाउने बानी अस्वस्थ भएको बताइन्।
खानपानको असर
चिकित्सकहरुका अनुसार पाइल्स बढ्नुको कारण हाम्रो खानपान र जीवनशैलीमा परिर्वतन हुनु पनि हो । हिजोआज हामी फलफुल खानुभन्दा जुस पिउँछौं । जूसमा फाइबर हुँदैन । हाम्रो शरीरको आन्द्राको नलीमा केवल फाइबर र पानी मात्र जान्छ । फास्ट फूडको बढ्दो प्रयोग र शारीरिक गतिविधि कम हुनाले पानी कम प्यास लाग्छ र हामी पानी पिउन बिर्सन्छौं । जसका कारण कब्जियत हुँदै पाइल्स हुन थाल्छ । त्यसबाट बच्नका लागि फलफुल, तरकारी र धेरै पानी पिउनु पर्छ ।
प्रकाशित मितिः२०७६ मंसिर ११ बुधबार