प्रहरी र स्थानीयबीच झडप
उदयपुर । उदयपुरको बेलका नगरपालिका–४ लालबजारमा ढुंगा उत्खनन विवादलाई लिएर मंगलबार बिहान प्रहरी र स्थानीयबीच झडप भएको छ ।
ढुंगा उत्खननको विषयलाई लिएर अवरोधमा उत्रिएका स्थानीयको माग सम्बोधन नगरी टिपरलाई सदरमुकामतर्फ लान खोजिएपछि झडप भएको स्थानीयले जनाएका छन् ।
सिसुवा खोलाबाट नियमविपरित ढुंगा लगेको भन्दै स्थानीयले लोड गरिएको २० वटा टिपर र एउटा स्काभेटरलाई नियन्त्रणमा लिएका थिए ।
रोकेर राखेको टिपरलाई त्यहाँबाट लैजाने क्रममा सोमबार राति नै स्थानीय र प्रहरीबीच झडप भएको थियो । मंगलबार बिहान प्रहरीले सुरक्षाका कारण देखाउँदै सदरमुकामतर्फ टिपर लान खोजेको थियो ।
तर, स्थानीयले टिपर लगिएको सूचना पाएलगत्तै अवरोध जनाएका थिए ।
जिल्ला प्रहरी कार्यालय, उदपुरको सञ्चार शाखाले जनाएअनुसार नगरपालिकाले पर्याप्त छलफलबिनै लालबजारको खोलाबाट गिटी बालुवा निकाल्न टेण्डर खुलाएको स्थानीयवासीको भनाइ छ ।
अहिले स्थानीयले यातायात सेवा ठप्प पारेका छन् । एम्बुलेन्सबाहेक अन्य सवारी साधन चलेका छैनन् । झडपमा प्रहरीले अश्रु ग्यास हानेको छ ।
प्रकाशित मितिः २०७६ मंसिर ३ मंगलबार