महंगा बेडमा भन्दा भुइँमा सुत्नु फाइदा

भक्तपुर न्यूज

५ कार्तिक २०७६ ३:०९

महंगा बेडमा भन्दा भुइँमा सुत्नु फाइदा

काठमाडौं । पहिलाका मानिसहरू सुत्ने, बस्नका लागि भुइँमा पलेटी कसेर बस्थे, भुइँमै सुत्थे । तर, आजभोलि मानिसहरू भुइँमा सुत्न र बस्नसमेत छाडिसकेका छन् । बस्न र खाना खान पनि उनीहरू कुर्सीको प्रयोग गर्ने चलन आइसक्दा भुइँमा सुत्ने मानिस त भेट्न नै गाह्रो हुने देखिन्छ ।

पहिला हाम्रा पूर्खाहरू भुइँमा नै सुत्थे । तर, अहिले हामी महंगा बेडमा वा महंगा गद्दामा सुत्ने गर्छौं । दिनभरिको कडा मेहनतपछि नरम ओछ्यानमा आराम गर्न पाउँदा स्वर्गकै अनुभूति भएको जस्तै हुन्छ । तर, नरम गद्दामा सुत्दा स्वास्थ्यलाई हानि पुग्छ भन्ने कुरा धेरैलाई थाहा नभएको हुन सक्छ । गद्दासहितको खाटमा सुत्दा कम्मर र गर्दनका पीडा उत्पन्न हुन्छ । तर, भुइँमा थोरै ओछ्यान राखेर सुत्न थालेमा शरीर दुख्ने कुनै पनि समस्याले सताउने गर्दैन ।

कम्मर दुख्ने समस्या अहिले हरेक उमेरका मानिसहरूलाई हुने सामान्य समस्या नै भएको छ । लगातार कम्प्युटरमा काम गर्ने, झुकेर हिँड्ने, सही पोजिसनमा नबस्ने र गलत तरिकाले सुत्ने गर्दा यस्ता समस्या निम्तिने गर्छ । एक अध्ययन अनुसार १० जना व्यक्तिमध्ये ८ जनामा कम्मर तथा ढाड दुख्ने समस्या हुन सक्छ । काँधलाई सिधा पार्न र गर्दन दुखेको निको पार्नलाई भुइँमा सुत्न थाल्नुहोस् ।

भुइँमा सुत्ने गर्दा शरीरमा सही तरिकाले रक्तसञ्चार भएर शरीर दिमागको तालमेल सही मिल्न गइ शारीरिक तथा मानसिक स्वास्थ्य पनि राम्रो रहन्छ । भुइँमा सुत्दा दिनभरिको थकान र तनावलाई हटाएर मानसिक शान्ति पाइनुका साथै मन रमाउने गर्छ । बेस्सरी काम गरेर थाक्दा पनि निद्रा नलागेको खण्डमा भुइँमा सुत्ने गर्दा गजबको निद्रा लाग्छ र उठेपछि पनि थकान र टाउको दुख्नेको हटेर दिनभरि ताजापन अनुभव हुन्छ ।

प्रकाशित मितिः २०७६ कार्तिक ५ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *