पुरुषको तुलनामा महिलाहरूलाई हृदयघातको सम्भावना बढी
काठमाडौं । दिनभरिको कामको व्यस्तता, चिल्लो खाना र धेरै जंक फूडको प्रयोग, रक्सी, चुरोट तथा सूर्तीजन्य पदार्थको अत्यधिक सेवन, अत्याधिक चिन्ता, तनाव र डिप्रेसन, शारीरिक श्रमको कमी तथा व्यायामको कमी, स्वास्थ्यमा विभिन्न समस्या नै हृदयाघातका मुख्य कारणहरू हुन् ।
तीमध्ये पनि धूमपान, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, मधुमेह, व्यायामको कमी, मोटो शरीर र मानसिक तनावलाई हृदयाघातको सबैभन्दा ठूलो कारक मानिने गरिन्छ । यी विभिन्न कारणहरूका साथ साथै लामो समयसम्म एन्टिबायोटिक औषधि सेवन गर्ने व्यक्तिहरूलाई समेत हृदयघातको खतरा देखिएको छ । पुरुषको तुलनामा महिलाहरूलाई हृदयघातको सम्भावना बढी देखिएको हो ।
हालै गरिएको एउटा अध्ययनले दाबी गरेअनुसार लामो समयसम्म एन्टिबायोटिक औषधिको सेवन गर्ने महिलाहरूलाई हृदयाघात वा स्ट्रोकको खतरा बढ्ने देखिन्छ । युरोपियन हर्ट जर्नलमा प्रकाशित गरिएको अध्ययनमा ६० वर्ष वा सोभन्दा बढी उमेरका महिला जो दुई महिना वा त्योभन्दा बढी समयसम्म एन्टिबायोटिक औषधि सेवन गरिरहेका हुन्छन् उनलाई मुटु रोगको खतरा सबभन्दा बढी भएको उल्लेख गरिएको छ ।
यस्तै ४० देखि ५९ वर्षसम्मका महिलामा समेत ६ महिनादेखि १ वर्षको लामो समयसम्म एन्टिबायोटिकको उपयोगले यस्तो जोखिम बढ्न सक्छ । तर, २० देखि ३९ वर्षसम्म उमेरका महिलहरूमा भने यो जोखिम नदेखिएको अनुसन्धानकर्ताहरुको भनाइ रहेको छ ।
प्रकाशित मितिः २०७६ असोज ३० बिहिबार