महरा बिरामी, नर्भिक अस्पताल भर्ना
काठमाडौं । बलात्कार प्रयास मुद्दाको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका पूर्व सभामुख कृष्णबहादुर महरा बिरामी परेका छन् ।
प्रहरी हिरासतमा रहेका महराको स्वास्थ्यमा सोमबारदेखि समस्या देखिएपछि बिहीबार अस्पताल भर्ना गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार महरालाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ ।
महरामा उच्च रक्तचापको समस्या छ । बुधबार साँझदेखि उनमा श्वासप्रश्वासको समेत समस्या देखिएको जनाइएको छ । महराको बिहीबारै बयान समेत भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं स्रोतले जनाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयानपछि महरालाई अस्पताल लगिएको हो । यसैबीच निवर्तमान सभामुख कृष्णबहादुर महराले सांसदका रुपमा पाउने सेवा–सुविधा स्थगित भएको छ ।
संसद सचिवालयले बिहीबार सूचना प्रकाशित गरी पक्राउसम्बन्धी जानकारी गराएलगत्तै महराले सांसदकारुपमा गर्ने काम र पाउने सुविधा स्थगित भएको जनाएको हो ।
संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईद्वारा हस्ताक्षरित सूचना प्रकाशित भएसँगै महराले सांसदकारुपमा प्राप्त गर्ने सम्पूर्ण सेवा–सुविधा स्थगित भएको छ ।
प्रकाशित मितिः २०७६ असोज २४ शुक्रबार