घ्यू खाँदा मोटाइँदैन,तौल घटाउन पनि त्यतिकै सहयोग
काठमाडौं । तौल कम गर्ने सोचमा भएका धेरैले चिल्लो पदार्थहरू खान छोडेका हुन्छन् । मोटाउने डरले धेरैजसो मानिसहरुले घ्यू खाँदैनन् तर, यहाँ बुझ्नुपर्ने कुरा के हो भने घ्यू खाँदा मोटाइँदैन । घ्यू विभिन्न गुणले भरिपूर्ण हुने गर्छ । दूधको छालीलाई मथेर निकालिएको नौनीलाई पगालेर वा खारेर बनाइने पदार्थलाई घ्यू भनिन्छ । घ्यूलाई जस्तोसुकै तरिकाले पनि खान सकिन्छ ।
घ्यूले खाना सजिलैसँग पचाउन, घाउ भर्न, एलर्जीलाई टाढा राख्न, हड्डीलाई बलियो बनाउन निकै सहयोग गर्छ । यी फाइदाका साथै गाईको घ्यूले तौल घटाउन पनि त्यतिकै सहयोग गर्ने गर्छ । विभिन्न देशहरूमा घ्यूलाई तौल घटाउनको लागि समेत प्रयोग गरिन थालेको छ । दिनमा दुईदेखि तीन चम्चा घ्यू खानु स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । घ्यूमा प्रशस्त मात्रामा पाइने डिएचए, फ्याट, एन्टिफंगल, एन्टीअक्सिडेन्ट र एन्टिब्याक्टेरियल प्रोपर्टिजले प्रतिरक्षा प्रणाली र पाचनक्रियालाई उत्कृष्ट बनाउँछ । जसको पाचन राम्रो हुन्छ, उनीहरू आफ्नो तौल कम गर्ने आफ्नो उद्देश्य चाँडै नै पूरा गर्न सक्छन् ।
घ्यूले खानामा भएको काब्रोहाइड्रेटलाई सजिलै ग्लुकोजमा परिणत हुन नदिने हुँदा रगतमा अचानक चिनीको मात्रा बढ्नबाट रोक्ने काम गर्छ । घ्यूमा हेल्दी फ्याट पाइन्छ जसले शरीरमा भएको खराब फ्याटलाई भगाउन र तौल कम गर्न मद्दत गर्छ । फ्याटी एसिडका भएका कारण यो चाँडै र सजिलै पच्ने गर्छ । भारतकी सेलिब्रिटी न्यूटिशनिस्ट रुजुता द्विकरका अनुसार घ्यूमा एमिनो एसिड हुन्छ जसले शरीरमा जमेको बोसोलाई पगालेर फ्याट सेल्सको साइज पहिलाको झैं बनाउन मद्दत गर्छ । यदि, आफ्नो शरीरमा जम्मा भएको जम्मा बोसोलाई घटाउन चाहनु हुन्छ भने आफ्नो खानामा घ्यू पक्कै पनि समावेश गर्न रुजुताले सुझाव दिएकी छन् ।
घ्यूमा मिडियम चेन फ्याटी एसिड हुन्छ, जसलाई कलेजोले चाँडै सोसेर बर्न गर्ने काम गर्छ । घ्यूमा प्रशस्त मात्रामा बटरिक एसिड पाइन्छ जसले शरीरम विभिन्न फाइदाहरू पुर्याउने गर्छन् । शरीरले फाइबरलाई बटरिक एसिडमा परिवर्तन गर्ने काम गर्छ । घ्यूमा भएको बटरिक एसिडले फाइबरलाई ऊर्जामा परिवर्तन गरी आन्द्रा बलियो हुन्छ जसकारण पाचन तन्त्र स्वस्थ रहन्छ । घ्यूमा यस्ता तत्त्व हुन्छन् जसले शरीरमा रहेको खराब कोलेस्ट्रोललाई नियन्त्रणमा राखेर राम्रो कोलेस्ट्रोल बढाउने काम गर्छ जसले शरीरको अनावश्यक तौललाई नियन्त्रण गर्न मद्दत गर्छ ।
प्रकाशित मितिः २०७६ असोज ८ बुधबार