अवैध चरेस, गाँजा र कारसहित पाँचजना पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडाबाट लागुऔषध चरेशसहित ३ जना भारतीय नागरिक तथा अवैध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
हेटौंडा–१५ बाट भारतीय नम्बर प्लेट बि आर ०१ पी एफ ७९९८ नम्बरको कारमा अगाडी पट्टीको एसीमा फल्स बटम बनाई ४ किलो ९ सय ग्राम चरेशसहित भारत बिहार जिल्लाका २८ वर्षीय शिवराज सिंह, २४ वर्षीय ज्ञानी कुमार पासवान र २४ वर्षीय राजु महतोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको कारलाई प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा फेला पारेको हो । पक्राउ परेकाहलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम १ वर्ष देखि ३ वर्ष सम्म कैद र ५ देखि २५ हजार सम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।
यस्तै प्रहरीले मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका–४ स्थित कालिका दोभानबाट अवैध गाँजा १२ केजी ४०० ग्राम लिएर हिँडेको अवस्थामा कैलाश गाउँपालिका– ८ का २६ वर्षीय राजकुमार थिङ र सोही ठेगानाका २१ वर्षीय दिपेश थिङलाई पक्राउ गरेको हो ।
प्रकाशित मितिः २०७६ भदौ २९ आइतबार