मदिरा पिउदा यी कुरा नखाएकै राम्रो
काठमाडौं । मदिरा पिउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । थोरै मात्रामा पिउने हो भने मदिराले पनि औषधीको काम गर्ने गर्छ । मानिसहरूले खाली पेटमा मदिरा पिउदा धेरै नसा लाग्छ भन्ने सोचेर सितन अर्थात् स्नाक्स पनि खाने गर्छन् । तर, मानिसहरु रक्सी पिउदा अगाडी जे छ त्यहि संग पिउने गरेको देखिन्छ । जे पायो त्यहि खाने गर्दा मदिरा र ती खाद्य पदार्थ मिसिएर अझ खराब गर्न सक्छ । त्यसरी दुई बस्तु मिलेर बनेको अर्कोतत्वले शरीरको लागि नराम्रो असरका गरिरहेको हुन्छ र यस बारेमा धेरै जसो मानिसहरुलाई खासै चासो भएको देखिन्न ।
यो विषयमा ज्ञान नभएको कारणले गर्दा मानिसहरुले आफ्नो स्वास्थ्यमा अझ नराम्रो असर परिरहेका हुन्छन् । त्यसैले रक्सीसंग खाने खानेकुरामा बेलामा ध्यान पुर्याउनु आवश्यक देखिन्छ । धेरै जसो मानिसहरूले रक्सीसँग स्नाक्समा भुजिया, निम्की, आलू चिप्स, प्राउन, ससेज, चाउचाउ साधेको चटपटे, मासुको रोस्ट, बदाम तथा तेल र मसलामा भुटेको खानेकुराहरु खाने गर्छन् । अनि नुनिलो वा नुन धेरै भएको खाने कुराहरु खाने गर्छन् । नुन धेरै भएको खानेकुराले बढी तिर्खा लाग्ने हुँदा मानिसहरूलाई पानीको प्यास लाग्ने गर्छ ।
तर, अलिकति नशा बढ्दै जाँदा पानीको साटो अझ बढी रक्सी पिउने गर्दा यसले समस्या निम्त्याउछ । शरीरमा रक्सीको मात्रा धेरै हुने हुदा पानीको मात्रा निकै काम हुन जान्छ । साथै, यस्ता नुनिलो खानेकुराको सेवनले कोलेस्ट्रोलको मात्रा बढाएर भोक हराउने, केहि खान मन नलाग्ने र शरीरलाई भारी बनाउने काम गरिरहेको हुन्छ । धेरै जसो मानिसहरूले धेरै नसा चढाउनकोलागि रक्सीसँग गुलियो पदार्थहरु सेवन गरिरहेका हुन्छन् । गुलियो चिजले रक्सीको नसा बढाएर व्यक्तिलाई अनियन्त्रित बनाउनुका साथै शरीरमा एकदम नकारात्मक असर पुर्याउने गरेको देखिन्छ ।
रक्सीसंग कोल्ड ड्रिंक वा सोडा मिसाएर कहिले पनि पिउने गर्नु हुँदैन । सोडा तथा कोल्ड ड्रिंकले शरीरमा पानीको मात्रा कम गराएर डिहाइद्रेसन गराउछ । डिहाइद्रेसन भएमा शरीरमा विभिन्न प्रकारको स्वास्थ्य समस्या आइपर्न सक्छ । कोल्ड ड्रिंक र सोडाको सट्टामा बरु जुस, पानी तथा बरफ मिलाएर रक्सीको सेवन गर्न सकिन्छ । कोहि कोहि मानिसहरु रक्सीसंग दुग्ध जन्य पदार्थ जस्तै दही, पनिर तथा चिज आदिको सेवन गर्ने गर्छन् । साथै यी दुध जन्य पदार्थलाई राखेर पकाएको खानेकुराको समेत रक्सीसंग सेवन गर्नु राम्रो मानिदैन ।
यस्तो दुध जन्य पदार्थहरु पच्नका लागि धेरै समय लाग्ने भएकोले अझ रक्सी संग सेवन गर्दा रक्सी संग मिसिन गइ पच्नका लागि अझ बढी समय लाग्ने गर्छ । यसले पाचन प्रक्रियालाई ढिलो गरेर पेट सम्बन्धि विभिन्न समस्याहरु निम्त्याउने गर्छ । रक्सीसंग चुरोट पिउने गरेको पनि देखिन्छ । रक्सी र चुरोट आफु आफूमै छुट्टै तरिकाले शरीरमा हानी गरिरहेका हुन्छ । अझ यी दुइलाई संगै सेवन गरेमा शरीरको तत्वहरु मा परिवर्तन आएर स्वास्थ्यमा नराम्रो असर गर्नुका साथै स्वासप्रस्वास सम्बन्धि समस्या उत्पन्न गर्न सक्छ ।
प्रकाशित मितिः २०७६ भदौ १८ बुधबार