फंगल इन्फेक्सनबाट जोगिने उपायहरू यस्ता छन्
काठमाडौँ ।गर्मीको महिनामा पसिना धेरै आउँछ । पसिना धेरै आउने हुँदा, बाहिरको धूलो तथा अन्य तत्वसँग मिसिन गइ छालासम्बन्धी अनेकौं समस्याहरु निम्त्याउन सक्छ । छालामा देखिने समस्याहरुमध्ये फंगल इन्फेक्सन सबैभन्दा खतरनाक र एकदम दुःख दिने समस्यामध्ये एक हो ।
हावा तथा धूलोको माध्यमबाट पसिनामा एक प्रकारको ढुसी अर्थात् फंगाई मिसिन जाँदा त्यसकारणले शरीरमा फंगल इन्फेक्सन हुन्छ । शरीरको कापकापमा धेरैबेरसम्म पसिना आइरहने गर्छ भने सतर्क रहनुपर्छ पसिना धेरै आउने मानिसहरुलाई यस्तो समस्याले गर्मी महिनामा एकदम सताउने गर्छ । धेरैबेर शरीरलाई गुम्स्याएर राख्दा, फोहोर पानीमा चलेमा, नुहाउँदा तथा सरसफाइमा ध्यान नदिँदा, शरीरमा नअट्ने टाइट लुगा लगाउने गर्दा, गर्मीमा फंगल इन्फेक्सनको समस्या देखापर्न सक्छ । डाइपर लगाउने बच्चामा, मोटो बच्चाहरुको घाँटीमा समेत यस्तो समया बढी देखिएको पाइन्छ ।
विभिन्न वैज्ञानिकहरूका अनुसार, मोजाबिना जुत्ता लगाउँदा पनि खुट्टाको छालामा फंगल इन्फेक्सन हुने सम्भावना हुन्छ । धेरै जसो गर्मी महिनामा टाइट लुगाका कारणले फंगल इन्फेक्सन भएमा काछ लागेर हिँडडुल गर्न समेत गाह्रो हुन्छ । फंगल इन्फेक्सन हुँदा शरीरको विभिन्न ठाउँ, हात र खुट्टाको औँलाको बीचमा चिलाउने, रातो हुने र छाला उप्किएर छालामाथि पिप बसेजस्तो सेतो छाला देखापर्ने, छालामा फोका उठ्ने, कपाल झरेर घाउ बन्नेलगायतका समस्याहरु देखा पर्न थाल्छ ।
छालारोग विशेषज्ञ डा. सवीना भट्टराईका अनुसार फंगल इन्फेक्सनका केही लक्षण देखा पर्ना साथ तुरुन्तै अस्पताल गएर चिकित्सकलाई देखाउनुपर्छ । रोग पहिचान भइसकेपछि चिकित्सकको सल्लाहअनुसार घाउ भएको ठाउँमा मल्हम लगाएर वा औषधि खाएर पनि घाउलाई सुकाउन सकिन्छ । फंगल इन्फेक्सन हटाउनका लागि डाक्टरले दिएका एन्टिफंगल इन्फेक्सन पाउडर र साबुनको प्रयोग गर्नु पर्छ ।
गर्मी महिनामा एन्टिफंगल साबुनले नुहाएपछि शरीरलाई भिजेको अवस्थामा छोड्नु हुँदैन । शरीरलाई राम्ररी पुछेर सुख्खा राखेर एन्टिफंगल पाउडरको प्रयोग गरेमा यस्तो समस्यालाई निवारण गर्न सकिन्छ । गर्मी महिनामा सुतीको टाइट नभएको लुगा लगाउने, पसिना धेरै आउन नदिने, बजारमा जथाभावी पाइने औषधि नलगाउने, एउटै जुत्ता, मोजा धेरै दिनसम्म नलगाउने जस्ता सतर्कता अपनाएमा गर्मीमा फंगल इन्फेक्सनबाट बच्न सकिन्छ ।
प्रकाशित मितिः २०७६ भदौ १२ बिहिबार