तारीसकेको तेलको प्रयोग गर्नाले स्वास्थ्यमा विभिन्न समस्या
भक्तपुर । मीठो हुने भएकाले फरक स्वादका लागि मानिसहरु विभिन्न तारेका खानेकुराहरु खाना निकै रुचाउने गर्छन । केही कुरा तार्नका लागि धेरै मात्रामा तेलको प्रयोग गर्नु पर्ने हुन्छ । धेरै तेल प्रयोग गरेको हुनले खानेकुरा तारेपछि केहि मात्रामा तेल उब्रिने गर्छ र धेरै जसोले तारेपछी उब्रिको तेललाई फेरी पनि प्रयोग गर्ने गरिन्छ । तर, यसरि खानेकुरा तारीसकेको तेलको प्रयोग गर्नाले स्वास्थ्यमा विभिन्न समस्याहरु आउन सक्छन् ।
आलु चिप्स, माछा, पकौडा, समोसा जस्ता तारेका खानेकुराहरुको स्वाद निकै मीठो हुने भएकाले मानिसको यस्ता खानाहरुमा धेरै आकर्षण हुने गर्छ । तर, फेरि पनि त्यहि तेलको प्रयोग गर्नु गलत हो । विभिन्न अनुसन्धानका अनुसार एकपटक केही कुरा तार्नका लागि प्रयोग गरिसकेको तेललाई फेरि पनि प्रयोग गरेमा त्यस्तो तेलले हाम्रो स्वास्थ्यमा निकै नकारात्मक असर पुर्याउने गर्छ । तेल जब तताइन्छ, त्यसमा भएको पोषक तत्वहरु नस्ट भएर जाने गर्छ र पटक–पटक तताएमा त्यो विषाक्तसमेत बन्न जान्छ ।
पटक–पटक तेललाई तताएर प्रयोग गरेमा त्यसमा हुने रसायनीक प्रतिक्रियाले तेलको संरचनामा असन्तुलन बनाएर तेललाई उच्च तापक्रममा विषाक्त पदार्थको रुपमा बदलिन्छ । तेललाई धेरै पटक तताएमा, त्यो क्यान्सरको कारकसमेत बन्न सक्छ । यसले हृदयाघात तथा मस्तिष्कसम्बन्धी विभिन्न रोगहरुको खतरा उत्पन्न गराउँछ । तेल तताउँदा भाँडोमा कालो बोसो तत्त्व जम्मा हुने गर्छ । यो देखिरहेकै चिज हो । जब त्यो तेलमा जम्मा भएको बोसो शरीरभित्र प्रवेश गर्छ, त्यसले रगतमा कोलेस्ट्रोलको मात्रालाई बढाइदिन्छ ।
कोलेस्टेरोल बढ्न गइ तौल बढेर मोटोपना, मधुमेह, एसिडिटी र मुटुको समस्यासमेत निम्त्याउन सक्छ । पटक–पटक एउटै तेललाई धेरै काममा प्रयोग गर्दा त्यसमा विस्तारै विस्तारै फ्रि रेडिकल्सहरु बन्न थाल्छ । यस्ता रेडिकल्सहरुले तेलको एन्टि अक्सिडेन्टलाई नस्ट गरेर पेटको क्यान्सर उत्पन्न गराउँछ । यसरी बाँकी रहेको तेलले स्वास्थ्यमा निम्त्याउने विभिन्न समस्याको कारण बन्न जान्छ ।
प्रकाशित मितिः २०७६ साउन ३२ शनिबार
