निन्द्रामा झस्कने समस्या भएमा के गर्ने ?

भक्तपुर न्यूज

२८ साउन २०७६ १०:१३

निन्द्रामा झस्कने समस्या भएमा के गर्ने ?

काठमाडौँ ।कोहीकोही मानिसहरु प्रायः निन्द्राको समयमा झस्किने तथा तर्सेर बिउझिने गर्छन् । डा। रितेश थापाका अनुसार निद्रामा झस्किने समस्या के कारणले हुन्छ भन्ने विषयका बारेमा आजसम्म कुनै वैज्ञानिक कारण पत्ता लग्न सकेको छैन ।

धेरैमा यो समस्या मानसिक तनावका कारण हुने गरेको पाइन्छ । निद्रा राम्रोसँग नपर्ने, पातलो निद्रा पर्ने, नराम्रो सपना देखेको बेला निन्द्राबाट झस्किने हुन्छ । मानसिक तनावका कारण हुने यो समस्या कहिलेकाहीं भने शारीरिक समस्याका कारण पनि हुन सक्छ । सुतेको अबस्थामा मानिसले अनौँठो अनौँठो अनुभूति भएको कारणले मान्छेको मनोवल कमजोर भइ एक्कासी आतिएर तर्सन थाल्छ ।

नियमित रुपमा निद्राको बीचबीचमा बिउँझिने हुँदा डर लाग्ने, उठ्दा पसिनै–पसिना हुने र शरीर कमजोर भएर श्वास फेर्न गाह्रो समेत हुन सक्छ । यस्तो समस्या पुरुषमाभन्दा महिलामा बढी देखिने गरिन्छ । कहिलेकाहीं निदाउन गाह्रो हुने, निदाउन सजिलो भए पनि उठ्ने बेलामा निद्रा नपुग्ने, पहिला कुनै ठूलो घटना भएर त्यसको झझल्को आउने, रक्सि तथा लागूपदार्थको सेवन, जथाभावी औषधि, निन्द्रा पर्ने औषधि, आएर पनि निद्रामा झस्किने समस्या आउन सक्छ ।

निद्रामा झस्कने समस्याबाट बच्नका लागि सुरुमा के कारणले गर्दा झस्किने समस्या भएको भन्ने कुरा पत्ता लगाउनु जरुरी देखिन्छ । सुत्दा मानसिक तनाब लिएर कहिले पनि सुत्नु हुँदैन । तनाब छ वा टाउको दुख्ने गर्छ भने सुत्नुअघि नुहाएर सुत्नु राम्रो हुन्छ । सुत्नु एक घण्टाअघि दूध वा पर्याप्त पानी पिउने, मोबाइल धेरै नचलाउने, सुत्न गाह्रो भएमा किताब पढ्ने गर्नु पर्छ ।

सुत्ने खाटलाई सुत्नको लागि मात्र प्रयोग गर्नुपर्छ । दिनभरी खाटमै बस्ने, पढ्ने, खाने र त्यहीं सुत्ने गर्नाले पनि निद्रामा समस्या उत्पन्न हुन्छ । दैनिक सुत्ने तालिका बनाउने, एउटै समयमा प्रशस्त मात्रामा निन्द्रा पुग्नेगरी सुत्ने र उठ्ने गर्नुपर्छ । सुत्ने कोठाको लाइट तथा भित्तामा प्रयोग गरिएको कलर धेरै चम्किलो हुने हुँदा पनि निद्रामा समस्या आउन सक्ने भएकाले सुत्दा बत्ति निभाएर र कोठामा हल्का खालको रंगको प्रयोग गर्नु पर्छ ।

धेरै मात्रामा कफी, रक्सी, लागूपदार्थको सेवन तथा निद्रा लाग्ने औषधिको सेवन नगर्ने, दिउँसो सुत्ने बानी छ भने हटाउने, दिनभर आफूलाई काममा व्यस्त राख्ने, तनावबाट मुक्त रहन आफूलाई मन पर्ने काममा ब्यस्त हुने गर्दा निन्द्रामा झस्किने समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

राति सुतेको बेलामा झस्केर बिउझिएमा उठेर लामो सास लिएर चिसो हावा र पानी पिएर यो केबल दिमागको खेल हो भनेर आफूलाई बुझाउनु पर्छ । र, बिस्तारै ठीक भएपछि सुत्नु पर्छ ।

प्रकाशित मितिः २०७६ साउन २८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय