पूर्वाञ्‍चाल विश्‍वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगमा विद्यार्थीले गरे तोडफोड

भक्तपुर न्यूज

२२ असार २०७६ ९:०७

पूर्वाञ्‍चाल विश्‍वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगमा विद्यार्थीले गरे तोडफोड

काठमाडौँ । विराटनगरस्थित पूर्वाञ्‍चाल विश्‍वविद्यालयमा पाँच विद्यार्थी संगठनले तोडफोड गरेका छन् ।

आइतबार विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा अनेरास्ववियु, अखिल क्रान्तिकारी, संघीय विद्यार्थी फोरम नेपाल, राष्ट्रिय विद्यार्थी संघ र नयाँ शक्ति विद्यार्थी युनियनले तोडफोड र तालाबन्दी गरेका हुन् ।

विश्वविद्यालयले गरेको विज्ञापन तथा परीक्षा सम्बन्धी सम्पूर्ण कामहरुलाई तत्काल स्थगन गर्दै छानबिन गर्न राष्ट्रिय योजना आयोग समितिको सुझाव वेवास्था गरेपछि विद्यार्थी संगठन तोडफोड र आन्दोलनमा उत्रिएका हुन् ।

विश्वविद्यालयको विज्ञापन तथा परीक्षाको विषयमा छानविनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७५ चैत ५ गते आयोगका सदस्य डा. उषा झाको नेतृत्वमा समिति गठन गरेको थियो ।

सोही समितिले दिएको सुझावलाई बेवास्था गर्दै विश्वविद्यालयले असार २० गते शुक्रबार परीक्षा सम्बन्धी कार्यक्रम प्रकासित गरेपछि विद्यार्थी आन्दोलित बनेको अनेरास्ववियुका मोरङ अध्यक्ष गोकर्ण घिमिरेले बताए ।

पाँचै विद्यार्थी संगठनले विराटनगरस्थित पुष्पलाल चोकमा रहेको विश्व विद्यालयको उपकुलपति र रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका समयमा उपकुलपति घनश्यामलाल दास र रजिष्ट्रार प्रमिला थापा नभएको बताइएको छ ।

त्यसैगरी, विराटनगरको बरगाछीमा रहेको पूर्वाञ्चल विश्व विद्यालय सेवा आयोगको कार्यालयमा पनि तालाबन्दी गरिएको छ । तालाबन्दी अघि विद्यार्थीहरु तोडफोडमा उत्रिएका थिए ।

दुवै ठाउँमा गरिएको तोडफोडबाट कार्यालयको कम्प्युटर, ल्यापटप, प्रिन्टर, झ्यालका सिसा, टेबुल, गमला, दराज, कुर्सी, नेम प्लेट समेतमा क्षति पुगेको छ ।

प्रकाशित मितिः२०७६ असार २२ आईतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *