भक्तपुरको खरिपाटीमा प्रहरीको आवास तथा सामूदायिक भवन निर्माण
भक्तपुर । चाँगुनारायण नगरपालिका–७ खरिपाटीमा सामूदायिक तथा प्रहरीको आवास भवन निर्माण गरिएको छ ।
चाँगुनारायण नगरपालिकाको २६ लाख ५७ हजार र स्थानीयको २ लाख ४८ हजार गरि २९ लाख ५ हजार रुपैयाँको लागतमा भवन निर्माण गरिएको निर्माण समितिका अध्यक्ष राजकुमार लामिछानेले बताए ।
निर्माण सम्पन्न भएको भवनको चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र र महानगरिय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक सविन प्रधानले संयुक्त रुपमा उद्घाटन गरे । ३ आना जग्गामा निर्माण भएको भवनको पहिलो तल्लामा चाँगुनारायण क्षेत्रमा विपद पर्दा आकस्मिक उद्धार तथा राहतका सामग्री भण्डारण गर्ने कक्ष र दोस्रो तल्लामा प्रहरी जवानको आवास स्थान निर्माण गरिएको महानगरिय प्रहरी प्रभाग खरिपाटीका प्रहरी नायव निरिक्षक जयराम दुलालले बताए ।
भवन उद्घाटन कार्यक्रममा नगर प्रमुख मिश्रले नगर क्षेत्रको शान्ति, सुरक्षा, अपराध नियन्त्रण, लागु औषध नियन्त्रणलगायतका सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रण तथा व्यवस्थापन कार्यलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताए । प्रमुख मिश्रले पूर्वाधार विकासका लागि नगरपालिकाले ८० करोड विनियोजन गरेको र सुरक्षा निकायको भौतिक संरचना निर्माणका लागि पनि प्राथमिकिकरणमा राखेको बताए ।
कार्यक्रममा प्रहरी परिसर भक्तपुरका उपरिक्षक सविन प्रधानले नगर क्षेत्रमा बढ्दो शहरिकरणसँगै आपराधिक क्रियाकलापमा समेत बृद्धि हुनसक्ने भएकाले स्थानीय समूदाय र प्रहरीको सहकार्यले मात्र अपराध न्यूनिकरणलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न सकिने बताए ।
सो अवसरमा नेपाली कांग्रेसका नेता राजाराम खड्का, वडा नं. ५ अध्यक्ष जयन्द्र खड्का, ६ का अध्यक्ष सन्तबहादुर वाइबा, ७ का अध्यक्ष ज्ञान बहादुर केसी, राजनीतिक दलका प्रतिनिधीहरुले नगरको शान्ति, सुरक्षा, अपराध नियन्त्रणमा प्रहरी र नागरिकको भूमिकाका बारेमा चर्चा गरे ।
भवन उद्घाटन कार्यक्रममा निर्माण कार्यमा महत्वपूर्ण सहयोग गर्ने निर्माण समितिका पदाधिकारी, सदस्य तथा अनुगमन समितिका सदस्यहरु लगाएत निर्माण कार्यमा श्रम सहयोग गर्ने प्रभागका २९ जना प्रहरी कर्मचारीहरुलाई समेत कदर पत्र प्रदान गरियो ।
प्रकाशित मितिः २०७६ असार १६ सोमबार