रुपन्देहीमा बसको ठक्करबाट मोटरसाइकल सवार दुईको मृत्यु
बुटवल । रुपन्देहीको सैनामैनामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सैनामैना– ६ कलौनीमा शनिबार राति साढे १२ बजे महेन्द्रनगरबाट काठमाडौँका लागि छुटेको ना ७ ख ५९४८ नम्बरको बसले विपरित दिशाबाट आएको लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा रहेका दुवैको मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविनराज मैनालीले जानकारी दिए । उनका अनुसार मोटरसाइकललाई बसले ठक्कर दिएपछि मोटरसाइकलमा आगो लागेको थियो ।
मोटरसाईकलमा सवार उनीहरूको पहिचान खुलेको छैन । आगोले जलेका कारण उनीहरूको पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । ठक्कर दिने बस र चालक सालझण्डी प्रहरीको नियन्त्रणमा रहेको छ ।
प्रकाशित मितिः २०७६ असार ८ आइतबार