डिएसपीको कुर्सीमा बसेर फोटो खिच्ने भारतीय युवक

भक्तपुर न्यूज

३ असार २०७६ ७:३२

डिएसपीको कुर्सीमा बसेर फोटो खिच्ने भारतीय युवक

काठमाडाैं । प्रहरी नायव उपरीक्षक (डिएसपी)को कुर्सीमा बसेर फोटाे खिच्दै सामाजिक सञ्जालमा हाल्ने एक भारतीय युवकलाई जेल चलान गरिएकाे छ ।

भारत बैंगलोरका २५ वर्षीय हर्कराज भनिने ओसमान डायनियल गुरुङलाई पुर्पक्षाका लागि काठमाडाैँस्थित केन्द्रीय जेल चलान गरिएको हाे । उनी केही समययता झापाकाे बिर्तामोड नगरपालिका– ५ मा बस्दै आएका थिए । उनी नेपालमा मेनपावर धन्दा चलाउने गरेकाे खुलेकाे छ ।

गत वैशाखमा गुरुङले इलाका प्रहरी कार्यालय, बिर्तामोडका डिएसपी सुवास खड्काको कुर्सीमा आफू गमक्क बसेर फाेटाे खिचाएका थिए । साथै उनले आफू एक दिनका लागि डिएसपी भएकाे भन्दै फाेटाेमा लेखेर साथीभाइमाद्ध धाक लगाउने गरेका थिए । साे फाेटाे सामाजिक सञ्जालमा फोटो राखेपछि इप्रका प्रमुखमाथि प्रदेश प्रहरीले छानबिन सुरु गरेको थियाे । प्रदेश प्रहरीले डिएसपी ‍खड्कालाई पनि कारबाहीस्वरुप प्रदेश प्रहरी कार्यालय विराटनगरमा झिकाएर अनुसन्धान गरिएकाे छ ।

प्रहरीको मान्छे हुँ भन्दै गुरुङले स्थानीय सर्वसाधारण र व्यापारीलाई धम्क्याउने समेत गरेकाे गुनासो आएपछि उनीमाथि छानबिन भएकाे हाे । साेमबार काठमाडौं जिल्ला अदालतले ती युवालाई पुर्पक्षका लागि भन्दै जगन्नाथ देवलस्थित केन्द्रीय कारागार चलान गर्न आदेश दिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धानपछि मुद्दा दर्ता गरेको हो । परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाइएको र सोही मुद्दामा अदालतले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएकाे छ ।

यसअघि प्रदेश- १ का प्रहरी प्रमुख डिआइजी केदार रिजालले प्रहरी संगठनको हित र मर्मविपरीत काम गर्ने जो-कोहीलाई पनि छुट नहुने बताएका थिए । डिएसपी खड्का नभएको मौका पारेर उनकै कार्यकक्षको कुर्सीमा नेम प्लेट र प्रहरीको झण्डा टेवलमा राखेर तस्विर खिचेकाे पाइएपछि गुरुङलाई पक्राउ गरिएकाे हाे । प्रकाउ गरी उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले महानगरीय प्रहरी काठमाडाैँलाई बुझाएकाे थियाे ।

प्रकाशित मितिः २०७६ असार ३ मङ्गलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *