कैदीले विष सेवन गरि आत्महत्या गरे
बाँके । बाँकेमा लागू औषध मुद्दामा कैद सजाय भोगिरहेका एक कैदीले विष सेवन गरि आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा बाँकेको जानकी गाउँपालिका–३ का २५ वर्षीय सुनीलकुमार तिवारी रहेको प्रहरीले जनाएको छ ।
नियमित उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्जमा लगिएको बेला तिवारीले शौचालयभित्र विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
गत वर्ष वैशाख ५ गतेबाट थुनामा रहेका तिवारीलाई सोमबार नियमित जाँच गराउन अस्पताल लगिएको थियो । यसैगरी, उनकी श्रीमतीले पनि अस्पताल परिसरमा नै विष सेवन गरेको प्रहरीले जनाएको छ ।
श्रीमतीले तिवारीकै अस्पताल खर्च स्वरुप पैसा दिँदा पैसासँगै विष दिएको हुन सक्ने जिल्ला कारागार बाँकेका जेलर भरत पाण्डेले जानकारी दिए ।
विष सेवन पछि बिरामी परेकी उनकी पत्नीको भेरी नर्सिङ अस्पतालमा उपचार भइरहेको र अहिले उनको अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७६ जेठ २९ बुधबार