विश्वको एक चौथाइभन्दा बढी मानिस गम्भीर रोगको जोखिममा

भक्तपुर न्यूज

२० भदौ २०७५ ३:५६

विश्वको एक चौथाइभन्दा बढी मानिस गम्भीर रोगको जोखिममा

काठमाडौं । पर्याप्त मात्रामा सक्रिय नभएका कारण विश्वको एक चौथाइभन्दा बढी मानिसहरू गम्भीर रोगहरूको जोखिममा रहेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले चेतावनी दिएको छ ।  डब्ल्यूएचओको एउटा अध्ययन प्रतिवेदन अनुसार विश्वको १ अर्ब ४० करोड जनसङ्ख्याले पर्याप्त शारीरिक व्यायाम गर्दैन र सन् २००१ यता यो अवस्थामा खासै प्रगति देखिएको छैन ।

शारीरिक रूपमा निष्क्रिय हुँदा मुटुसम्बन्धी रोग, मधुमेह र केही प्रकारका क्यान्सरजस्ता कैयौँ रोग हुने जोखिम हुन्छ । ब्रिटेनसहित उच्च आय भएको देशका मानिसहरू थोरै शारीरिक व्यायाम गर्ने गरेको पाइएको छ ।

एशियाका दुई क्षेत्रमा बाहेक विश्वभरि महिलाहरू अझ बढी निष्क्रिय रहेको पाइएको सो अध्ययनले उल्लेख गरेको छ ।
डब्ल्यूएचओका अनुसन्धानकर्ताहरूले शारीरिक क्रियाकलापबारे १६८ वटा देशमा जनसङ्ख्यामा आधारित आफैँले तयार पारेको ३५८ वटा सर्वेक्षणलाई हेरेका हुन् ।

ती सर्वेक्षणहरूमा १९ लाख जनसङ्ख्या सामेल थियो । अध्ययन प्रतिवेदन ल्यान्सेट पब्लिक हेल्थ नामक जर्नलमा प्रकाशित भएको छ । अनुसन्धानकर्ताहरूका अनुसार उच्च आय हुने ब्रिटेन र संयुक्त राज्य अमेरिकासहितका मुलुकमा शारीरिक रूपमा निष्क्रिय हुने जनसङ्ख्या सन् २००१ मा ३२ प्रतिशत रहेकोमा सन् २०१६ मा बढेर ३७ प्रतिशत पुगेको पाइएको छ ।

कम आय हुने देशमा त्यस्तो जनसङ्ख्या १६ प्रतिशतसहित स्थिर रहेको पाइएको छ । निष्क्रिय भनिएकाहरूले हप्तामा १५० मिनेट जति मध्यम खाले शारीरिक व्यायाम अथवा मेहनत हुने खालको ७५ मिनेटसम्मको व्यायाम गर्ने गरेको प्रतिवेदनले जनाएको छ ।

जर्मनी, न्युजिल्याण्ड र संयुक्त राज्य अमेरिका लगायतका मुलुकमा मानिसले शारीरिक व्यायाम गर्ने क्रम चाहि बढ्न थालेको छ । पूर्वी र दक्षिणपूर्वी एशियामा बाहेक महिलाहरू पुरुषको तुलनामा महिलाहरू शारीरिक रूपमा कम सक्रिय रहेको पाइएको छ ।

दक्षिण एशिया, मध्य एशिया, मध्य पूर्व, उत्तर अमेरिका र उच्च आय हुने पश्चिमा मुलुकहरूबीच ठूलो भिन्नता देखिएको छ । बच्चाहरूको रेखदेख गर्नुपर्ने अतिरिक्त जिम्मेवारी र सांस्कृति चालचलन लगायत विभिन्न कारणले शारीरिक व्यायाम गर्न त्यहाँका महिलाले समय पाउन गाह्रो हुने गरेको जस्तो देखिएको अनुसन्धानकर्ताहरूले उल्लेख गरेका छन् ।

धनी देशहरूमा निष्क्रिय रहने खालका जागिर र सोखहरूका साथै यातायातका लागि मोटरको प्रयोग लगायतका कारणले निष्क्रियता बढेको विज्ञहरूको निष्कर्ष छ । कम आय हुने मुलुकका मानिसहरू आफ्नो जागिरमा सक्रिय हुनुका साथै हिँडडुल गर्ने अथवा सार्वजनिक यातायातको प्रयोग गर्ने देखिएको छ । बीबीसी

प्रकाशित मितिः २०७५ भदौ २० बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय