अमेरिकी सर्वोच्च अदालतद्वारा ६ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको निर्णय सदर
एजेन्सी, १९ मंसिर । अमेरिकाको सर्वोच्च अदालतले मुस्लिम बाहुल्य ६ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय सदर गरेको छ । सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पको निर्णय सदर गर्दै तत्काल पूर्ण रुपले कार्यान्वयन गर्न निर्देशन पनि दिएको छ । ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हाले लगतै मुस्लिम बाहुल्य देशबाट अमेरिकाको सुरक्षामा खतरा रहेको भन्दै चाड, इरान, लिबिया, सोमालिया, सिरिया र यमनमाथि यात्रा प्रतिबन्ध लगाउने निर्णय गरेका थिए ।
तर राष्ट्रपतिको निर्णयविरुद्धमा विभिन्न संघीय अदालतले फैसला गरेपछि कार्यान्वयनमा आउन सकेको थिएन । यस मुद्दामा सर्वोच्च अदालतले राष्ट्रपतिको पक्षमा फैसला गर्दै कार्यान्वयनका लागि निर्देशन दिएको हो ।
सर्वोच्च अदालतका ९ मध्ये सात न्यायाधीशले ट्रम्प प्रशासनले तल्लो अदालतले यात्रा प्रतिबन्ध लागु गर्न लगाएको प्रतिबन्ध हटाउन गरेको मागको पक्षमा मत दिएका छन् ।
सर्वोच्चले कार्यान्वयनको बाटो खुला गरे पनि अझै कानुनी चुनौती बाँकी नै रहेको बताइएको छ । गत जनवरीमा सत्ता सम्हाले लगत्तै ट्रम्पले यात्रा प्रतिबन्ध सम्बन्धी विवादास्पद नीतिका तीन प्रारुप जारी गरेका थिए ।
तल्लो अदालतका न्यायाधीशले ट्रम्पको निर्णय धार्मिक रुपमा मुस्लिममाथिको प्रतिबन्ध रहेको भन्दै कार्यान्वयनमा रोक लगाएका थिए ।
अब सर्वोच्च अदालतको आदेशपछि मुस्लिम बाहुल्य ६ देशका नागरिक अमेरिका प्रवेश गर्न नपाउने भएका छन् ।