विश्वकप फुटबलको ‘ड्र’ सार्वजनिक
एजेन्सी, १७ मंसिर । आगामी वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबल २०१८ को समूह विभाजन सार्वजनिक भएको छ । शुक्रबार रुसको राजधानीमा रहेको क्रेमलिन प्यालेसमा एक भब्य समारोहकाबीच ड्र सार्वजनिक भएको हो ।
शुक्रबार सार्वजनिक गरिएको ‘ड्र’ अनुसार फ्रान्स, डेनमार्क र पेरु रहेको समूह ‘सी’ लाई ग्रुफ अफ डेथको रुपमा हेरिएको छ किनभने फिफा र्याङकिङका अनुसार फ्रान्स नवौं, पेरु एघारौं र डेनमार्क बाह्रौंमा रहेका छन् ।
सन् २०१८ को जुन १४ देखि जुलाई १५ सम्म हुने २१ औं संस्करणको विश्वकप फुटबलको ‘ड्र’ अनुसार उद्घाटन खेल आयोजक रुस र साउदी अरेबिया बीच हुने भएको छ ।
विश्वकपका लागि फिफाको ६ महादेशका २०९ राष्ट्रले विभिन्न चरणको छनोट चरण पार गर्दै ३२ टोलीको टुंगो लागेको हो । फिफाले ‘ड्र’ को लागि छनोट भएका ३२ राष्ट्रलाई ४ पटमा विभाजन गरेको थियो । हरेक ‘पट’मा ८ टोलि रहेका थिए । ४ पटमा रहेका ३२ राष्ट्रलाई ‘ड्र’ बाट समूह चरणको लागि ८ समूहमा विभाजन गरिएको हो । हरेक समूहका विजेता र उपविजेता प्रिक्वाटरफाइनलमा पुग्नेछन् ।
हरेक समूहमा ४ टोली रहका छन् । रुस विश्वकपमा यो पटक युरोपबाट १४ राष्ट्र छनोट हुँदा दक्षिण अमेरिका, एसिया र अफ्रिकाबाट समान ५–५ देश छनोट भएका छन् । उत्तर अमेरिकाबाट ३ टोलीले विश्वकपमा स्थान बनाए । यो पटक ओसियाना क्षेत्रबाट कुनै पनि टोलीले स्थान बनाउन सकेनन् ।
विश्वकपको समूह विभाजन
समूह ‘ए’ – रुस, साउदी अरब, इजिप्ट र उरुग्वे
समूह ‘बी’ – पोर्चुगल, स्पेन, मोरोक्को र इरान
समूह ‘सी’ – फ्रान्स, अष्ट्रेलिया, पेरु र डेनमार्क
समूह ‘डी’ – अर्जेन्टिना, आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया
समूह ‘ई’ – ब्राजिल, स्वीट्जरल्याण्ड, कोष्टा रिका र सर्विया
समूह ‘एफ’ – जर्मनी मेक्सिको, स्वीडेन र दक्षिण कोरिया
समूह ‘जी’ – बेल्जियम, पानमा, ट्युनिसिया र इंग्ल्याण्ड
समूह ‘एच’ – पोल्याण्ड, सेनेगल, कोलम्विया र जापान