उत्तर कोरियाले गर्यो अहिलेसम्मकै ठूलो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण
एजेन्सी, १३ मंसिर । उत्तर कोरियाले अहिलेसम्मकै ठूलो क्षमताको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाले परीक्षण गरेका मध्ये यो अहिलेसम्मकै ठूलो क्षमताको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल रहेको अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसले बताएका छन् ।
उत्तर कोरियाले बुधबार परीक्षण गरेको मिसाइल झण्डै एक हजार किलोमिटर दूरी पार गरेर सि अफ जापानमा खसेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । यसअघि उत्तर कोरियाले गएको सेप्टेम्बरमा ब्यालेस्टिर मिसाइल परीक्षण गरेको थियो । त्यसको केही दिनअघि उसले आफ्नो छैटौं परमाणु परीक्षण सफल रुपमा गरेको थियो । उत्तर कोरियाले बुधबार साउथ प्योङयाङको प्योङयाङबाट मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको समाचार संस्था योनहापले जनाएको छ ।
जापानले पनि यसबारेमा प्रतिक्रिया दिदै उत्तर कोरियाको यो कदम उक्साउने किसिमको भएको बताएको छ । उत्तर कोरियाले यसअघिका परीक्षण जापानको माथि भएर जाने गरी मिसाइल परीक्षण गर्दै आएको थियो ।