एमरसन मनांगगवाले शुक्रबार राष्ट्रपतिको शपथ लिदै
एजेन्सी, ७ मंसिर । जिम्बाबेको नेतृत्व सम्हाल्ने तयारीमा रहेका नेता एमरसन मनांगगवाले देशमा प्रजातन्त्र पुनर्स्थापित गर्ने बताएका छन् । रोबर्ट मुगाबेले राष्ट्रपतिबाट राजीनामा दिएपछि विदेशबाट फर्केका पूर्व उपराष्ट्रपति मनांगगवाले रोजगारी सिर्जना गर्ने र देशको अहिलेको अवस्थामा सुधार गर्ने बताएका हुन् ।
३७ वर्षदेखि सत्तामा रहेका मुगाबेले मंगलबार राजीनामा दिएपछि मनांगगवा राष्ट्रपति बन्ने पक्का भएको छ । उनले शुक्रबार राष्ट्रपतिको शपथ लिदै छन् । उनले हरारेमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफू अर्थव्यवस्था बलियो बनाउने योजनामा रहेको र त्यसका लागि रोजगारी सिर्जना गर्नु पर्ने बताए । पछिल्लो आंकडा अनुसार जिम्बाबेमा झण्डै ९० प्रतिशत मानिस बेरोजगार छन् । दुई हप्ताअघि मुगाबेले उपराष्ट्रपतिबाट बर्खास्त गरेपछि उनी दक्षिण अफ्रिका गएका थिए ।
मुगाबेको राजीनामासँगै देशका सडक तथा संसदमा खुशीयाली मनाइएको थियो ।