कांग्रेसमा प्रवेश गरिन् अनुराधा कोइराला
काठमाडौं, २६ कार्तिक । चेलीबेटी बेचबिखनबिरुद्धको अभियानमा सक्रिय संस्था माइती नेपालकी अध्यक्ष तथा ‘सिएनएन हिरो’बाट सम्मानित समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।
आज प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच कोइरालालाई पार्टीमा स्वागत गरे ।
चेलीवेटी बेचविखन विरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय कोइरालाले मुलुकको आर्थिक बृद्धि र समृद्धि कांग्रेसबाट मात्रै सम्भव भएको भन्दै पार्टी प्रवेश गरिन् ।
‘सबै समुदायको अधिकार स्थापित गर्दै मुलुकलाई आर्थिक र समृद्धिको बाटोमा लैजान सक्ने कांग्रेस मात्रै हो’ पार्टी प्रवेशपछि कोइरालाले भनिन्, ‘लोकतान्त्रिक छाताभित्र मात्रै सबैको अधिकार र विकास सम्भव छ ।’
कोइरालाले लोकतन्त्र बाहेकको अरु कुनै पनि व्यवस्था नेपाली जनताले स्विकार नगर्ने बताउर्दै लोकतन्त्रलाई थप वजवुत गराउन सबैलाई कांग्रेसमा मतदान गर्न पनि आह्वान गरेकी छिन् । ‘म सबैमा लोकतन्त्रलाई स्विकार गरी सबै अटाउन सक्ने नीति बोकेको कांग्रेसलाई मतदान गर्न अपिल गर्दछु’ कोइरालाले भनिन् ।
सामाजिक क्षेत्रमा लामो समय योगदान गर्नुभएको कोइराला अहिले कांग्रेसको पक्षमा मतदान गरेर महिला, दलित, जनजाती, मधेसीलगायत विभिन्न पिछडिएका क्षेत्रको अधिकार स्थापित गर्नुपर्ने बताउँछिन् ।