चिनीमा ५० प्रतिशत आयात महसुल बढाउने तयारी

भक्तपुर न्यूज

२५ कार्तिक २०७४ ४:२२

चिनीमा ५० प्रतिशत आयात महसुल बढाउने तयारी

काठमाडौ, २५ कात्तिक । सरकारले भारतबाट नेपालमा आयात हुँदै आएको चिनीमा ५० प्रतिशत आयात महसुल बनाउने तयारी गरेको छ। कृषि विकास मन्त्रालयले चिनीमा १५ प्रतिशत लगाइदैँ आएको आयात महसुललाई बढाएर ५० प्रतिशत पुर्याउन अर्थ, वाणिज्य, उद्योग र आपुर्ति मन्त्रालयलाई लिखित रुपमा पत्र पठाएको छ।

मन्त्रालयका सहसचिव सुरेशबाबु तिवारीले नेपाल उद्योग चिनी संघको माग अनुसार ५० प्रतिशत आयात महसुल बनाउन आवश्यक प्रक्रिया थाल्न ती मन्त्रालयहरुलाई पत्र पठाएको हो। आयात महसुल बढे अहिले प्रतिकिलो ८५ रुपैयाँ रहेको चिनीको मुल्य १ सय १५ रुपैयाँभन्दा माथि पर्ने छ। साल्ट ट्रेडिङले अहिले भारतबाट नेपालमा चिनी आयात गरिरहेको छ।

उसले भारतबाट चिनी किन्दा बढीमा प्रतिकिलो ५५ रुपैयाँ पर्छ। नेपालमा साल्ट ट्रेडिङले नाफा बढी खाएर चिनी बेच्दै आएको आरोपसमेत लागेको छ। उसले ५ प्रतिशत आयात महसुल तिरेर अनुदानमा चिनी ल्याइरहेको छ। ब्यापारीहरुले भने भारतबाट आफुहरुले चिनी आयात गर्दा ५० प्रतिशत आयात महसुल लगाउने तयारी उचित नभएको बताएका छन् ।

उनीहरुले सबै नेपालको भान्सामा चिनीको मुल्य बढ्ने, विस्कुट लगायतका कन्फेक्सनरी उद्योगहरु बन्द हुने अवस्थामा पुग्ने बताएका छन् । नेपालमा अहिले २८ वटा विस्कुट उद्योग छन् । नेपाल विस्कुट तथा कन्फेक्सनरी उद्योग संघले चिनीमा ५० प्रतिशत आयात भन्सार दर लगाउने निर्णयले आफूहरु आश्चर्यचकित भएको भन्दै चिनीमा समेत राजनीति हुन लागेको आरोप लगाएको छ। उनीहरुले ५ प्रतिशत भन्सार दरमै चिनी आयात गर्न पाउनु पर्ने माग अघि सारेका छन् । नेपालमा उत्पादित चिनीले देशको कुल भागको ४० प्रतिशत पनि धान्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *