उम्मेदवारका उजुरी केलाउँदै निर्वाचन आयोग

भक्तपुर न्यूज

१८ कार्तिक २०७४ ५:१०

उम्मेदवारका उजुरी केलाउँदै निर्वाचन आयोग

काठमाडौं, १८ कात्तिक । निर्वाचन आयोगले दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनेकाविरूद् परेका उजुरीउपर छानबिन थालेको छ । उम्मेदवारविरुद्ध उजुरी दिन शुक्रबारको समय दिएको आयोगले आज मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्न लागेको हो ।

निर्वाचन आयोगका सहप्रवक्ता मुकुन्द शर्माले आयोगको निर्धारित कार्यतालिका अनुसार नै आज मनोनयनपत्र र उजुरीउपर छानबिन गर्न लागिएको बताए । उनले देशभरबाट उजुरीको तथ्यांक संकलन भइरहेकाले यसबारे यकिन हुन बाँकी रकेको जानकारी दिए ।

प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन मंसिर २१ गते ४५ जिल्लामा हुँदैछ । निर्वाचन आयोगले कात्तिक १६ गते यी जिल्लाका निर्वाचन क्षेत्रको उम्मेदवार मनोनयन दर्ता गराएको थियो । निर्वाचन आयोगका अनुसार १२८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि १७४२ उम्मेदवारी परेको छ भने प्रदेशसभातर्फको २५६ निर्वाचन क्षेत्रका लागि २९६६ जना मैदानमा खडा भएका छन् ।

उम्मेदवारविरुद्ध उजुरी दिने समय शुक्रबारका लागि दिएको आयोगले शनिबार मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्नेछ । १८ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको आयोगले उम्मेदवारी फिर्ता लिन चाहनेका लागि १९ गतेको समय दिएको छ । आयोगका अनुसार, उम्मेदवारलाई कात्तिक १९ गते नै चुनाव चिह्न प्रदान गरिने छ । यसअघि पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाको उम्मेदवार मनोनयन भइसकेको छ । त्यहाँ मंसिर १० गते निर्वाचन हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *