गुरु न्यौपानेको जफत सेयर लिलाममा
काठमाडौं ८ कार्तिक । अबैध रुपमा किनेको सेयर जफत गरी जनता बैंकले लिलाममा राखेको छ । गुरु प्रसाद न्यौपानेले किनेको साधारण सेयर राष्ट्र बैंकले जफत गर्न दिएको निर्देशन अनुसार जनता बैंकले न्यौपानेको ८५ हजार एक कित्ता सेयर जफत गरी सर्वसाधारणले खरिद गर्न सक्ने गरी लिलाममा राखेको हो ।
एक सूचना मार्फत जनता बैंकले ८५ हजार एक कित्ता साधारण सेयर कात्तिक १५ देखि २१ गतेसम्म लिलाममा राखेको जनाएको हो । यसका लागि बैंकले काठमाण्डौं क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकको लिलामी सेयरमा आवेदन गर्न चाहनेले काठमाण्डौं प्लाजामा रहेको काठमाडौ क्यापिटलको कार्यालयमा सम्पर्क राख्नु पर्ने हुन्छ ।
न्यौपाने जनता बैंकको संचालक रहेका बेला माछापुच्छ्रे बैंकसँग मर्जर सम्झौताको प्रकृया चलेको थियो । सोही समयमा न्यौपानेले स्टक ब्रेकर नम्बर ४८ बाट आफ्नी श्रीमतीका नाममा ठुलो संख्यामा सेयर खरिद गरेका थिए । मर्जरको प्रकृया सार्वजनिक नभई भित्री सूचनाका आधारमा सेयर कारोबार गरेको प्रमाणित भए पछि राष्ट्र बैंकले जनता बैंकलाई न्यौपानेको सेयर जफत गर्न निर्देशन दिएको थियो । यस क्रममा न्यौपाने अन्य व्यक्तिका नाममा किनेको सेयर भने जफत हुनबाट बचेको थियो । ईन्साईडर ट्रेडिङ गरेको सम्बन्धमा मेरोलगानीले यस अघि खबरहरु सम्प्रेषण गरेको थियो ।