मण्डेलाको नयाँ संस्मरण सार्वजनिक
एजेन्सी, २ कार्तिक । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको आत्मवृत्तान्त ‘लंग वाक टु फ्रिडम’ को नयाँ संस्मरण जोहानेस्वर्गमा सार्वजनिक भएको छ । ‘डेयर नट लिंगर’ नामक यो पुस्तकमा मण्डेलाले आफ्नो मृत्यु हुनुअघि पूरा गर्न नसकेका सामग्रीहरु समावेश छन् । विरामी हुनुअघि उनले कार्यालयमा आफूले बिताएको समयबारे १० वटा भागमा लेखेका थिए ।
मण्डेलाले पूरा गर्न नसकेको किताबको हस्तलिखित मस्यौदालाई दक्षिण अफ्रिकाका सफल उपन्यासकार मण्ड्ला लंगाले पूरा गरेका हुन् । उनले अन्तर्वार्ता र आफ्नै अनुसन्धानको सहायताले यो पुस्तक लेखन पूरा गरेका हुन् । पूर्व राष्ट्रपतिले उमेर र स्वास्थ्यका कारणले पुस्तक पूरा गर्न सकेका थिएनन् । उनको मृत्यु सन् २०१३ मा भएको थियो ।
किताबको शिर्षक मण्डेलाको चर्चित आत्मवृत्तान्त ‘लंग वाक टु फ्रिडम’को अन्तिम वाक्य “स्वतन्त्रतासँगै जिम्मेवारी आउँछ, र यसलाई लम्ब्याउने आँट म गर्दिन किनकी मेरो लामो यात्राको अन्त्य भएको छैन” बाट लिइएको हो । उनको आत्मवृत्तान्त विश्वभर १ करोड ४० लाख प्रति बिकेको थियो भने पछि त्यसलाई चलचित्रमा पनि उतारिएको थियो । दक्षिण अफ्रिकामा अल्पसंख्यक गोरा जातीहरुको शासनविरुद्ध लड्दा मण्डेला २७ वर्ष जेलमा बसेका थिए । सन् १९९४ मा उनी देशको पहिलो निर्वाचित राष्ट्रपति बने र एक कार्यकाल राष्ट्रपतिको रुपमा उनले बिताए ।