वाम गठबन्धनलाई अझै बाँडफाँटको सकस
काठमाडौं २ कात्तिक । एमाले र माओवादी केन्द्रसहितको वाम गठबन्धनमा क्षेत्र बाँडफाँट र सिट संख्या टुंग्याउने विषय जटिल बन्दै गएको छ । पहिलो चरणअन्तर्गत प्रदेश र संघको निर्वाचनको उम्मेदवार मनोनयन दर्ता गर्न तीन दिन मात्रै बाँकी हुँदासम्म सहमति जुट्न सकेको छैन । क्षेत्र र सिट बाँडफाँट कार्यदलमा एमालेबाट महासचिव ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे र शंकर पोखरेल तथा माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव छन् ।
कार्यदलले दुई सातादेखि गृहकार्य गर्दा पनि अन्तिम टुंगो लगाउन नसकेपछि पार्टी एकता संयोजन समितिले बुधबार छलफल गरेको छ । संयोजन समितिमा एमालेबाट केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम छन् । त्यस्तै माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ छन् । ललितपुरको एक निजी घरमा भएको छलफल अन्तिम टुंगो लगाउने दिशामा अघि बढेको माओवादी प्रवक्ता पम्फा भुसालले बताइन् ।