ट्रम्पको पछिल्लो नियम कार्यान्वयन नगर्न अदालतको आदेश
एजेन्सी, १ कार्तिक । अमेरिकाका एक न्यायाधीशले राष्ट्रपति डोनल्ड ट्रम्पले ल्याएको पछिल्लो यात्रा प्रतिबन्ध लागू हुनुकेही अघि त्यसमाथि रोक लगाएका छन् । ट्रम्पको ८ देशका नागरिकलाई अमेरिका प्रवेश गर्न नदिने सम्बन्धी नियम कार्यान्वयमा अदालतले रोक लगाएको हो । इरान, लिबिया, सिरिया, एमन, सोमालिया, चाड, उत्तर कोरिया र भेनेज्वेलाका केही मानिसहरुमाथि गत महिना उक्त प्रतिबन्ध घोषणा गरिएको थियो ।
ह्वाइट हाउसले अदालतको उक्त आदेश खतरनाक तरिकाले कमजोर भएको भन्दै त्यसविरुद्ध कानुन मन्त्रालयले पुनरावलोकनमा जाने बताएको छ । समयावधी नतोकिएको ट्रम्पको यसैहप्ताबाट लागू हुन लागेको उक्त यात्रा प्रतिबन्धलाई संघीय अदालतका न्यायाधीशले रोक लगाएका हुन् ।
यसअघि पनि ६ वटा मुसलमानहरुको बाहुल्यता रहेको देशहरुमाथि यात्रा प्रतिबन्ध लगाइएको थियो तर त्यसलाई सर्वोच्च अदालतले हेरेको थियो । सेप्टेम्बरमा घोषणा गरिएको यो पछिल्लो प्रतिबन्ध इरान, लिबिया, सिरिया, एमन, समालिया, चाड, उत्तर कोरिया र भेनेज्वेलाका नागरिकमाथि लक्षित गरिएको हो ।
आजबाट लागू हुन लागेको ट्रम्पको यो तेस्रो यात्रा प्रतिबन्धलाई रोक लगाउन हवाई राज्यमा निवेदन दर्ता भएको थियो । उक्त निवेदनमा आप्रवासीसम्बन्धी संघीय कानुन अन्तर्गत राष्ट्रपतिले त्यस्तो प्रतिबन्ध लगाउन नपाउने उल्लेख थियो । क्षेत्रीय न्यायाधीश डेरिक वाटसन जसले यसअघि मार्चमा पनि ट्रम्पको यात्रा प्रतिबन्धलाई रोक लगाएका थिए, उनैले अहिले पनि यो नयाँ आदेश जारी गरेका हुन् ।
न्यायाधीश वाटसनले यो पछिल्लो प्रतिबन्ध घोषणा गर्नुले यसअघिका अदालतका आदेशहरुलाई बेवास्ता गरेको देखिएको आदेशमा उल्लेख गरेका छन् ।
यसैबीच ह्वाइट हाउसले यो पछिल्लो प्रतिबन्ध विश्वभरीको सुरक्षा चासो र सूचना आदानप्रदानमा आधारित भएको बताएको छ ।