प्रदेश र प्रतिनिधिसभाको चुनाव दुई चरणमै

भक्तपुर न्यूज

२७ असोज २०७४ ३:२३

प्रदेश र प्रतिनिधिसभाको चुनाव दुई चरणमै

काठमाडौं , २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन घोषित मितिभन्दा तलमाथि नहुने स्पष्टोक्ति दिएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार बसेको तीन दलका शीर्ष नेताको बैठकमा प्रधानमन्त्री देउवाले सरकार तोकिएको मितिमै चुनाव गर्न प्रतिबद्ध रहेको विश्वास पनि दिलाए । देउवाको चुनाव नसार्ने स्पष्टोक्तिको क्रममा नेताहरू हाँसेको बैठक स्रोतले बताएको छ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बैठकमा प्रधानमन्त्री देउवाले ‘साथीहरू नचाहिँदो हल्ला गर्दै हिँड्नुहुन्छ, मैले चुनाव सार्ने त्यस्तो के खेल खेलेँ रु, यस्तो हल्ला नगर्नुस्’ भनी स्पष्टीकरण दिएको बताए । बैठकमा छलफल भएको विषयमाथि प्रकाश पार्दै नेता नेपालले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘प्रधानमन्त्रीले दुईवटा कुरामा आश्वस्त पार्नुभयो । चुनावको मिति सर्दैन । तपाईंहरू ढुक्क हुनुहोस् । अर्को कुरा सरकार निर्वाचन आचारसंहिता पालना गर्ने कुरामा गम्भीर छ, शंका गर्नुपर्दैन ।’

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावको मितिमा हेरफेर गर्ने निर्णय नलिन देउवालाई चेतावनी दिएका थिए । बैठकमा नेता ओली र दाहालले चुनावको मुखमा मन्त्रिपरिषद् हेरफेर नगर्न चेतावनी पनि दिएका थिए ।

तीन दलको बैठकले राष्ट्रियसभा निर्वाचन विधेयकमा सहमति जुटाउने जिम्मेवारी प्रमुख तीन दलका शीर्ष नेतृत्वलाई दिएको छ । राष्ट्रियसभाको निर्वाचन एकल संक्रमणीय आधारमा तय गर्नुपर्ने सरकारको प्रस्तावमा प्रमुख प्रतिपक्ष एमालेको असहमति छ । सोही विषयमा सहमति जुटाउने जिम्मेवारी कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिने निर्णय गरिएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । माओवादी र एमालेबीच चुनावमा वामपन्थी तालमेलको घोषणा भएपछि तीन दलका नेताबीच संवाद भएको थिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *