बहिनीलाई शक्तिशाली बनाउँदै किम जङ-अन

भक्तपुर न्यूज

२३ असोज २०७४ ६:३२

बहिनीलाई शक्तिशाली बनाउँदै किम जङ-अन

एजेन्सी, २३ असोज । उत्तर कोरियाली नेता किम जङ-अनले आफ्नी बहिनीलाई नीति निर्माणको तहमा पुर्‍याउँदै पार्टी बैठकबाट उनलाई थप अधिकार प्रदान गरेका छन् । दिवंगत नेता किम जङ-इलकी कान्छी छोरी किम यो-जङले वर्कर्स पार्टीको पोलिटब्यूरोकी सदस्यका रुपमा अब आफ्नी फुपूको स्थान लिनेछिन् ।

३० वर्षीया किम यो-जङलाई दुई वर्षअघि पार्टीको वरिष्ठ अधिकारीका रुपमा चिनिने गरिन्थ्यो । सार्वजनिक कार्यक्रममा प्रायः आफ्ना दाइ किम जङ-अनसँगै देखिने किम यो-जङ उनको सार्वजनिक छवि बनाउनमा भूमिका निर्वाह गरेको ठानिन्छ ।

प्रचारसम्बन्धी उत्तर कोरियाली विभागको उप-निर्देशक पद सम्हालेकी किम यो-जङ पहिल्यैदेखि प्रभावशाली रहिआएकी छन् । उत्तर कोरियामा मानवअधिकार उल्लंघनका घटनामा संलग्न रहेको आरोपमा संयुक्त राज्य अमेरिकाले उनलाई कालोसूचीमा राखेको छ ।

शनिवार पार्टीको बैठकबाट दर्जनौं उच्च अधिकारीहरुको जिम्मेवारीमा ठूलो फेरबदल गर्ने क्रममा किम जङ-अनले बहिनीलाई बढुवा गरेका हुन्  । बीबीसीका एकजना संवाददाता भन्छन्, पार्टीभित्र किम यो-जङको बढुवा उत्तर कोरियाली सत्तामा किम परिवारको बलियो पकड रहेको एउटा प्रमाण हो ।

गत वर्ष सत्तारुढ पार्टीको कंग्रेसमा महत्त्वपूर्ण पद दिइएपछि नै भविष्यमा किम यो-जङलाई मुख्य नेतृत्वभित्र ल्याइने अनुमान गरिएको थियो । शनिवार गरिएका अन्य महत्त्वपूर्ण निर्णय अन्तर्गत विदेशमन्त्री री यङ-होलाई पोलिटब्यूरोमा ल्याइएको छ । गत महिना राष्ट्रसंघको महासंघमा उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई ‘दुष्ट राष्ट्रपति’ भनेर सम्बोधन गरेका थिए ।

अन्तर्राष्ट्रिय प्रतिबन्ध र चेतावनीका बावजुद उत्तर कोरियाले आफ्ना पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई जारी राख्ने किम जङ-अनको अडानका माझ बढुवासम्बन्धी निर्णय बाहिर आएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *