अब दुई तिहाइको वाम सरकार : एमाले

भक्तपुर न्यूज

२२ असोज २०७४ ५:२१

अब दुई तिहाइको वाम सरकार : एमाले

काठमाडौं, २२ असोज । एमालेले वाम गठबन्धनले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दुई तिहाई ल्याएर वाम सरकार गठन गर्ने निर्णय गरेको छ ।  पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार बसेको स्थायी कमिटीको बैठकले माओवादी केन्द्र र नयाँशक्ति पार्टीसँग प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल र पार्टी एकीकरण गर्ने सहमतिको स्वागत गर्दै आगामी चुनावमा दुई तिहाईसहित वाम सरकार गठन गर्ने निर्णय गरेको हो ।

बैठकले वामपन्थी एकता अभियानको घोषणालाई अनुमोदन गर्दै वामपन्थी दलहरूको एकताका लागि भएको सहमति ऐतिहासिक भएको पनि निष्कर्ष निकालेको छ । बैठकले माओवादीसँग पार्टी एकताका लागि भएको सहमति अनुमोदन गर्दै त्यसलाई ऐतिहासिक उपलब्धि भन्दै माओवादीसँग भएको पार्टी एकीकरणको सम्झौतालाई बैठकले सर्वसम्मत अनुमोदन गरेको सचिव प्रदीप ज्ञवालीले बताए ।

उनका अनुसार बैठकले ती सहमतिलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने निर्णय पनि गरेको छ । लचिलो र जिम्मेवार ढंगले चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमतिलाई कार्यान्वयनमा लैजान प्रभावकारी कदम चाल्ने निर्णयसमेत गरेको छ ।

ज्ञवालीका अनुसार बैठकले कांग्रेसलाई वाम तालमेलका विषयमा अनेक भ्रमात्मक प्रचार नगर्न आग्रह गरेको छ । ‘हाम्रो पार्टी एकतालाई लिएर नेपाली कांग्रेसका कतिपय नेताले अधिनायकवाद, सर्वसत्तावाद वा लोकतन्त्र खतरामा परेको अराजनीतिक टिप्पणी गर्नुभएको सुनिएको छ’, बैठकपछि ज्ञवालीले भने, ‘त्यसले उहाँहरूको बेचैनी र अत्यासलाई अभिव्यक्त गरेको छ, लोकतन्त्रप्रतिको हाम्रो निष्ठामा प्रश्न नउठाउन हामी आग्रह गर्छौं । दलहरूबीचको एकताले लोकतान्त्रिक प्रणालीको स्थायित्वलाई सुनिश्चित गर्छ, उहाँहरूले पनि विचार मिल्ने पक्षसँग एकता गर्नुहुन्छ भने हामी स्वागत गर्छौं ।’

वामपन्थी दलहरूको एकता नेपालको कम्युनिस्ट आन्दोलनको एकीकरणसँग जोडिएकाले एमालेले गरेको वाम एकता कांग्रेस वा कुनै पनि दलविरुद्ध नभएको बैठकले स्पष्ट गरेको उनले बताए । यस्तै, एमाले र माओवादीबीच भएको एकता सरकार ढाल्नका लागि नभएको भन्दै यही सरकारले चुनाव गराउने पनि एमालेले स्पष्ट पारेको छ । तर, यसलाई देखाएर चुनाव नगराउने खेलमा उद्यत नहुन कांग्रेसलाई आग्रह गरेको छ । चुनावलाई प्रतिकूल असर पार्ने कुनै पनि गतिविधि एमालेलाई मान्य नहुने उसको निष्कर्ष छ ।

एमालेले चुनावी तालमेल र पार्टी एकीकरणका लागि गठित ३ दलीय कार्य दललाई आफ्नो जिम्मेवारी छिटो पूरा पनि सचेत गराएको छ । पार्टी एकता संयोजन समिति, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचका लागि प्रत्यक्षतर्फको उम्मेदवारका लागि निर्वाचन क्षेत्र बाँडफाँट कार्यदल र घोषणापत्र मस्यौदा कार्यदललाई छिटो आफ्नो कार्यसम्पादन गर्न सचेत गराइएको हो । उपाध्यक्ष वामदेव गौतम नेतृत्वको संयुक्त कार्यदललाई आइतबारसम्म संयुक्त चुनावी घोषणापत्र तयारीको काम सम्पन्न गरिसक्नुपर्ने कार्यादेश दिइएको छ भने महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदललाई चुनावका लागि ३ दलबीच निर्वाचन क्षेत्र बाँडफाँटको जिम्मेवारी दिइएको छ ।

एमालेले गत बुधबार माओवादी केन्द्रसँग प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा ६०÷४० को तालमेल गर्ने निर्णय गरेको छ । त्यसैगरी, एमाले स्थायी समिति बैठकले चितवन जिल्ला समन्वय समितिको निर्वाचनका लागि पार्टीको तर्फबाट कृष्णकुमार डल्लाकोटीलाई प्रमुख र मुनाकुमारी श्रेष्ठलाई उपप्रमुखमा उम्मेदवारी दिने निर्णय पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *