भूकम्पपीडितले अनुदान लिए, घर बनाएनन्
काठमाडौं, २१ असोज। गोरखाका भूकम्पपीडितले अनुदान रकम प्राप्त गरिसक्दा पनि घर बनाउन सकेका छैनन् । हिउँद लागेपछि वर्षा र वर्षा लागेपछि हिउँदमा बनाउने भन्दै उनीहरूले अहिलेसम्म घर निर्माण गर्न नसकेका हुन् ।
घर नभएकै कारण उनीहरूले अहिलेको दसँै पनि टहरामै मनाएका छन् । भूकम्प गएको २९ महिना बितिसक्दा पनि उनीहरू टहरामै बस्न बाध्य छन् । गोरखाका अधिकांश गाउँहरूमा हिउँदमा मात्र सडकको पहँुच पुगे पनि वर्षामा अधिकांश गाउँमा यातायात नचल्ने समस्या रहेको छ । हिउँदको बेला निर्माण सामग्री ल्याई वर्षातमा घर निर्माण गर्नुपर्ने अवस्था छ । तर, वर्षातमा पानीका कारण घर निर्माण गर्न नसकिने भएपछि उनीहरूको अवस्था कष्टकर नै रहेको छ ।
अहिलेसम्म नयाँ घरमा बसेर रमाइलोसँग चाडवाड मनाउन पाउँथे । तिहार लगतै चिसो मौसम सुरु हुने भएकाले गोरखाका भूकम्प पीडितहरू अझै समस्यामा पर्ने देखिएको छ । गोरखाका ६२ हजार लाभग्राहीमध्ये हालसम्म ८ हजारले मात्र दोस्रो किस्ताको अनुदान रकम प्राप्त गरेका छन् । ५५ हजारको बैंक खातामा ५० हजारका दरले १ वर्ष पहिले नै अनुदान पठाए पनि हालसम्म पीडितकै लापर्बाहीका कारण पुननिर्माणमा ढिलासस्ती भएको हो । यसरी हेर्दा ६२ हजार घर बन्नुपर्नेमा जम्मा ८ हजार मात्र बनेका छन् ।
तेस्रो किस्ताको अनुदान लिनेको संख्या ज्यादै न्यून रहेको छ । जम्मा १ हजार २ सय जनाले मात्र तेस्रो किस्ता लिएको तत्यांक पुनर्निर्माण प्रधिकरण गोरखाले जानकारी दिएको छ । मापदण्ड पूरा गरी घर बनाएपछि मात्रै तस्रो किस्ताको रकम दिइने मापदण्ड तोकिएको छ ।
घर निर्माण गरी बस्न थालिसकेको भूकम्पपीडितले पनि तेस्रो किस्ता पाएका छैनन् । सिरानचोक–४ छाप्राका बलराम अधिकारी पनि यस्तै सास्ति भोग्दै आएका छन् । अधिकारीले घर निर्माण गरी बस्दै आएको २ महिना बितिसक्दा पनि रकम नपाएको बताएका छन् ।
कस्तो घर बनाउँदा मापदण्ड अनुसारको हुन्छ, भूकम्पप्रतिरोधी हुन्छ भन्ने कुरा अझै गाउँलेहरूमा अन्योलता छ । दुर्गम भेग चुमनुम्बी गाउँपालिका तथा धार्चे गाउँपालिका क्षेत्रमा इन्जिनियरहरू भेटिँदैनन् ।
इन्जियिर नभेटिएका कारण पीडितहरूले आपूmखुसी परम्परागतशैलीको घर बनाएका छन् । उक्त घर भूकम्पको सानो तिनो धक्काले नै भत्कने खालका छन् । भूकम्पको केन्द्र रहेको बारपाकमै बनेका अधिकांश घरहरू मापदण्ड अनुसारका छैनन् । दश प्रतिशत घर प्राधिकरण गठन हुनु पुर्ब नै बनिसकेकाले मापदण्ड अनुरूपको नभएको हो ।
भूकम्पले क्षति पुगे पनि प्रबलिकरण गरी अहिलेसम्म २ हजार १९ जनाको बसेका छन् । उनीहरूले १ लाख लिएर घर
मर्मत गर्नुपर्ने भए पनि वडाका सचिबहरूले लाभग्राहीसँग सम्झैता सुरु नगरेकाले प्रवलिकरणमा ढिलाइ भइरहेको छ । करिब एघार हजार घर परिवारले अनुदान नपाएको गुनासो आएपछि गाएमा इन्जिनियर खटाइ पुन सर्भेक्षको काम सुरु गरिएको छ । तर पुरा भएको छैन ।
निमार्ण सामग्री अभाब, दक्ष कामदार खोजेको बेला नपाउँने, पाइहाले पनि महँगो ज्याला पर्छ । एकजनाको दैनिक ज्याला पन्ध्र सय भन्दा माथि छ । भूकम्प पछि ज्यला आफुखुसी बढेको हो । भूकम्पपीडितहरू सामग्री ढुवानी गर्न ट्याक्टर भाडा महंगो रहेको गुनासो गरेका छन् ।
यस्तै बिकट ठाउँहरूमा मापदण्ड अनुसारको घर बन्न सकेका छैनन् । अनुदान लिन कम्तिमा ४ दिनको बाटो हिडेर आरुघाटस्थित बैँक धाउनु पर्ने बाध्यता छ । अझै गाउँपालिकामा बैँकका शाखा पनि पुगेका छैनन् । केरौजा बारपाकको दलित बस्ती सुरक्षित ठाउँमा सार्न सकिएको छैन । बुढीगण्डकी प्रभावित साविक १४ गाविसका बासिन्दाले कस्तो घर बनाउने हो । अहिलेसम्म टुंगो लागेको छैन ।
प्रभावित क्षेत्रको नाम्जुङमा करिब आधा दर्जन जति टहरा बनाइए पनि घर निर्माण गरेर बस्न नपाइएको अर्जुनबहादुर थापाले बताए । घर निर्माणको नक्सा बुढीगण्डकी प्रभावितले अझै पाउन सकेका छैनन् । खर्च गरेर पक्की घर बनाउँदा १० वर्र्षमा आयोजना निर्माण भए डुब्ने र घरको मुआब्जा पनि नपाइने हल्ला चलेकाले टहरामै बस्न बाध्य हुनुपरेको थापाले बताएका छन् ।