प्रदेश र प्रतिनिधि सभा चुनावको कार्यतालिका सार्वजनिक

भक्तपुर न्यूज

२७ भदौ २०७४ २:२४

प्रदेश र प्रतिनिधि सभा चुनावको कार्यतालिका सार्वजनिक

काठमाडौं, २७ भदौ । पहिलो चरणको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भाइटीकाको भोलिपल्ट हुने भएको छ ।

निर्वाचन आयोगको बैठकले चुनावको कार्यतालिका तय गरेको हो, जस अनुसार मंसिर १० गते पहिलो चरणको चुनावका लागि कात्तिक ५ गते उम्मेदवारी दर्ता गर्नु पर्नेछ । यस वर्ष भाइटीका कात्तिक ४ गते परेको छ । अर्थात भाइटीकाको भोलिपल्ट उम्मेदवारी दर्ता हुनेछ ।

यस्तै २१ गते हुने दोस्रो चरणको चुनावका लागि उम्मेदवारी दर्ता कात्तिक १६ गते तोकिएको छ । सरकारले संघीय संसद प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकै पटक गर्ने निर्णय गरेको छ । तर, देशभर एकै चरणमा नभई मंसिर १० र २१ गते गरी दुई चरणमा मतदान हुनेछ ।

राजनीतिक दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची भने असोज २९ गते पेश नै गर्नु पर्नेछ । सरकारले प्रत्यक्षतर्फ उम्मेदवारी लिएपछि मात्र समानुपातिको बन्दसूची पेश गर्ने गरी कार्यतालिका बनाउन आग्रह गरेको थियो । तर, आयोगले पूर्वतयारी अनुसार समानुपातिकको उम्मेदवारको बन्दसूची पेश गरेपछि मात्र प्रत्यक्षको उम्मेदवारी दर्ता राखेको छ ।

कार्यतालिका अनुसार समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने दलहरुले भोलिसम्म आयोगमा निवेदन दिनु पर्नेछ । अन्य प्रक्रिया पूरा गरेर ३० गते चुनाव चिन्ह दिइनेछ । असोज २९ गते समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्नु पर्नेछ । दाबीविरोध फिर्ता लगायतका प्रक्रिया पूरा गरेर उम्मेदवारहरुको अन्तिम सूची भने मंसिर ३ गते मात्र प्रकाशित गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *