मधेसमा जताततै चुनावी उत्सव
काठमाडौं, २२ भदौ । आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को चुनावका लागि उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भएको छ । साँझ नपर्दै सकिनुपर्ने उम्मेदवारी मनोनयन रातिसम्म लम्बिएको थियो ।
विगतमा आन्दोलनको केन्द्रका रुपमा रहेको मधेसमा बुधबार रातिसम्म उम्मेदवारी दर्ता गर्नेहरुको लहर देखिनु आफैंमा एउटा रोचक राजनीतिक परिदृश्य हो । यो दृश्यले मधेसमा स्थानीय चुनाव एउटा उत्सवकै रुपमा आएको महसुस स्थानीयले गरेका छन् । र, यो उत्साहले अब प्रदेश र केन्द्रको चुनावलाई समेत सकारात्मक प्रभाव पार्ने कतिपय मानिसहरुको पूर्वानुमान छ ।
निर्वाचन आयोगका अनुसार ६६२७ पदका लागि चारगुणा बढी उम्मेदवारी परेको छ । साँझ साढे ६ बजेसम्म १८ हजार २ सय जनाको उम्मेदवारी दर्ता भएको छ । साँझमा पनि निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नेको ठूलो भीड छ । आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘५ बजेसम्म कार्यालय परिसरमा आएकाको उम्मेदवारी लिन्छौं, सबै सकिँदा रातको ११ बज्ला ।’
महानगरपालिकासँगै तीनवटा उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । आज मनोनयन दर्ता भएपछि आगामी असोज २ गते मतदान हुनेछ । प्रदेश नं २ मा २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन् भने २१६६ मतदान स्थल र ३५७८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा चुनाव भएको थियो । त्यसैगरी असार १४ गते दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ गरी ६१७ वटा स्थानीय तहमा निर्वाचन भइसकेको छ ।
