प्रदेश नम्बर २ मा आज मनोनयन दर्ता

भक्तपुर न्यूज

२१ भदौ २०७४ ४:००

प्रदेश नम्बर २ मा आज मनोनयन दर्ता

काठमाडौं, २१ भदौ । प्रदेश नम्बर २ का १३६ स्थानीय तहको चुनावका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । उम्मेदवारी दर्तामा उत्साहपूर्वक रुपमा सहभागी हुन निर्वाचन आयोगले दल, उम्मेदवार र मतदातालाई आग्रह गरेको छ । बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने आयोगले जनाएको छ ।
सरकारले आगामी असोज २ गते दुई नम्बर प्रदेशका ८ जिल्लामा तेस्रो चरणमा स्थानीय चुनाव गर्न लागेको हो । बाँकी जिल्लामा बैशाख ३१ र असार १४ गते दुई चरणमा यसअघि नै निर्वाचन सम्पन्न भइकेको छ ।
आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट जिल्लाका स्थानीय तहमा मनोनयन दर्ता हुनेछ ।
असोज २ गते १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा चुनाव हुँदैछ । ती सबै तहबाट ६ हजार ६ सय २७ जना प्रतिनिधि चयन हुनेछन् । चुनावका लागि २ हजार १६६ मतदानस्थल, ३ हजार ५७८ मतदान केन्द्र रहनेछन् भने चुनावमा ३१ हजार ५ सय कर्मचारी खटिएका छन् ।
दर्ता भएका उम्मेदवारको आज नै सूची प्रकाशन हुनेछ । यस्तै दर्ता भएका उम्मेदवारमाथि भोलिसम्म उजुरी दिन सकिनेछ । उम्मेदवारविरुद्ध परेका उजुरीको जाँच त्यसै दिन गरिने आयोगले जनाएको हो । आयोगको कार्यतालिकाअनुसार २३ भदौमा मनोनयन परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरिनेछ ।
सार्वजनिक भएका उम्मेदवारले नाम फिर्ता लिन चाहेमा २३ गते नै फिर्ता लिन सक्नेछन् । यस्तै २४ गते आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेछ भने त्यसै दिन नै उम्मेदवारलाई निर्वाचन चिह्न दिइने आयोगको कार्यतालिकामा उल्लेख छ । आयोगले २ असोजका दिन बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *