आज गणेश चौथी पर्व मनाईदै
काठमाडौं, ९ भदौ । आज भाद्र शुल्क चौथी अर्थात् गणेश चौथी । देशभरका हिन्दू धर्मावलम्बीले गणेशको पूजाआजा गरी गणेश चौथी पर्व मनाउँदै छन् । आजैका दिन गणेशको जन्म भएको शिवपुराणमा उल्लेख छ ।
गणेशलाई लड्डु चढाएर आफ्नो मनोकामना पुरा हुने विश्वास अनुसार अधिकांश गणेश मन्दिरमा भक्तजनहरु लड्डु बोकेर पुगेका छन् ।
नेवार समुदायले आजको दिनलाई चथा पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालिकालाई भटमास, मकै आदि भुटेका गेडागुडी अर्थात ‘छुस्यामुस्या’ बाँड्ने चलन छ । आज बेलुका चन्द्रमालाई पूजा गरेर यो पर्व मनाइने गरिन्छ ।
चन्द्रमालाई आज चोर देवताका रुपमा पूजा गरिन्छ । कमलको फूल, चथा फूल, समयबजी, फलफूल, अदुवाको बोटलगायत राखेर चन्द्रमाको पूजा गर्ने चलन छ । आज पानी परेमा दसैंमा पनि पानी पर्ने जनविश्वास छ ।
गणेश चौथीका अवसरमा देशभरका गणेश मन्दिरमा घुईंचो लागेको छ । उपत्यकाका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक, जलविनायकसहित कमलादी गणेशको मन्दिर लगायत देशभरका गणेश मान्दरमा विशेष पूजासहित भक्तजनको भीड लागेको छ ।