भक्तपुरका अधिकांश पसल मूल्यसूचीबिहीन
भक्तपुर, ६ भदौ । दैनिक उपभोग्य वस्तुहरूको खुद्रा व्यापार गर्ने भक्तपुरका अधिकांश व्यापारीले आफ्नो पसलमा मूल्यसूची राखेका छैनन् । मूल्यसूची नराख्दा उपभोक्ताहरूले पसलमा रहेका वस्तुहरूको मूल्यको जानकारी पाउने आफ्नो अधिकारबाट वञ्चित हुनुपरेको तथा उपभोग्य वस्तुहरूको मूल्य पनि पसल अनुसार फरकफरक भएको उपभोक्ताहरूको गुनासो रहेको छ ।
उपभोग्यवस्तुहरूको मूल्यमा हुनसक्ने कालोबजारी रोक्नका लागि सरकारले मूल्यसूची राख्न सम्पूर्ण व्यापारीहरूलाई आह्वान गरे पनि व्यापारीहरूले त्यसलाई बेवास्ता गर्दै आएको स्थानीय उपभोक्ता बताउँछन् । जिम्मेवार निकायको लापरवाहीका कारण यस्तो भएको हुनसक्ने बताईएको छ । बजारका मुख्यमुख्य चोकमा भएका व्यापारीबाहेक अन्य कुनै पनि पसलमा मूल्यसूची छैनन् ।
त्यस्तै भक्तपुर सूर्यविनायकका कृष्ण श्रेष्ठ मुल्यसूचि अझै पनि अधिकांश पसलहरूमा नराखिएको बताउँछन् । जसले गर्दा कुन पसलमा के कति मूल्यका उपभोग्य वस्तुहरू रहेको भन्ने छुट्याउन गाह्रो भएको छ । यता व्यापारीहरूले भने दैनिक मूल्य घटबढ हुने हुनाले यो झञ्झटिलो हुने हुँदा मूल्यसूची राख्न असजिलो भएको बताएका छन् ।
एकपटक माल ल्याउँदा एकथरी मूल्य अर्कोपटक ल्याउँदा अर्कोथरी मूल्य हुन्छ कसरी मूल्यसूची राख्न सम्भव हुन्छ व्यापारी बताउँछन । दैनिक सामान ल्याउँदा फरक हुनेहुँदा यो असम्भव रहेको व्यापारी बताउँछन् । कतिपय पसलहरुमा मूल्यसूची लेखिएको बोर्ड भए पनि सामानको बीचमा कसैले नदेख्ने गरी राखेको पाइन्छ । यस सम्बन्धमा उद्योग बाणिज्य संघ भक्तपुर समेत उदासिन रहेको छ । वाणिज्य कार्यालयले सबैले अनिवार्यरूपमा मूल्यसूची राख्नुपर्ने बताए पनि त्यसो नभएको स्वीकार गरेको छ ।